काठमाडाैँ । नेपाली काँग्रेस संस्थापन इतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीभित्रको विवाद समाधानका लागि संस्थापन पक्षले गम्भीर सहमतिको प्रयास नगरेको आरोप लगाएका छन् ।
उनले ठोस राजनीतिक पहल गर्नुभन्दा सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत प्रचार गर्ने काम मात्रै भएको दाबी गरेका हुन् । सोमबार चुनदेवीमा आयोजित पत्रकार सम्मेलनमा महतले पूर्वसभापति शेरबहादुर देउवा पक्षबाट पार्टीभित्रको विवाद समाधानका लागि आफूहरूसँग ठोस रूपमा संवाद र सहमतिको पहल नभएको बताए।
उनकाअनुसार ३ गते हुने वडा अधिवेशनमा सहभागी भए १४ औँ महाधिवेशनबाट निर्वाचित भएर हाल बाहिर रहेका नेताहरूलाई विशेष अधिवेशनमा समेट्ने प्रश्ताव गरिएको छ । महतले उक्त प्रश्तावलाई अपमानजनक भन्दै पार्टीमा योगदान गरेका नेताहरूलाई कसैको व्यक्तिगत निगाहमा स्थान दिने कुरा स्वीकार्य नहुने बताए ।
उनले भने, “हामी केन्द्रिय सदस्य भयौँ भनेर पार्टीमा लागेका होइनौँ । नेपाली काँग्रेसको मूल्य, मान्यता र संस्कार छ । १४ औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई अहिले आएर अधिवेशनमा सहभागी भए मात्रै केन्द्रिय सदस्य बन्न सक्नुहुन्छ भन्नु घाउमा नुन छर्किएजस्तो हो ।”
महतले अदालतमा विचाराधीन प्रक्रियालाई पर्खिनुपर्ने वा राजनीतिक सहमतिका लागि अधिवेशन प्रक्रिया स्थगित गरेर समाधान खोज्नुपर्ने विकल्प आफूहरूले अघि सारे पनि संस्थापन पक्षले दुवै विकल्प अस्वीकार गरेको आरोप लगाए ।
उनले राजनीतिक सहमति हुने अवस्था बने अदालतमा गरिएको पुनरावलोकनको निवेदन फिर्ता लिन आफूहरू तयार रहेको स्पष्ट पारे । तर त्यसका लागि पहिले अधिवेशन प्रक्रिया स्थगित गरी राजनीतिक सहमतिको वातावरण बनाउनुपर्ने उनको भनाइ छ ।
उनले भने, “पहिला राजनीतिक रूपमा सहमति हुनुप¥यो । एकताको महाधिवेशन गरेर जाने वातावरण बन्नुप¥यो । त्यसपछि अदालतको प्रक्रिया फिर्ता लिने कुरा हुन्छ ।”
महतले काँग्रेसको १५ औँ महाधिवेशनमा सहभागी हुन देशभरका नेता तथा कार्यकर्तालाई आह्वानसमेत गरे । उनकाअनुसार असोज १५ गतेदेखि शुरु हुने वडा अधिवेशन हुँदै मंसिर २१, २२ र २३ गते महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका रहेको छ ।
उनले आफूहरू अर्को पार्टी निर्माण गर्ने पक्षमा नरहेको स्पष्ट पार्दै ‘नेपाली काँग्रेसकै महाधिवेशन’ गर्न लागेको दाबी गरे। १४औँ महाधिवेशनबाट निर्वाचित समितिको नेतृत्वमा अधिवेशन आयोजना भइरहेको भन्दै उनले पार्टीको मूल भावना र आत्मा जोगाउन सबै काँग्रेसजनलाई सहभागी हुन आग्रह गरेका हुन् ।
उनले भने, “हामी अर्को पार्टी बनाउँदै छैनौँ, नेपाली कांग्रेस पार्टीकै अधिवेशन गर्दैछौँ । पदलाई होइन, विचारलाई महत्व दिने स्वाभिमानी काँग्रेसका साथीहरू १५ औँ महाधिवेशनमा सहभागी हुनुहुन्छ भन्ने विश्वास छ ।”
महतले संस्थापन पक्षले सहमतिको बाटो बन्द गरेको आरोप लगाउँदै अब पार्टीको मूल भावना जोगाउन महाधिवेशनमा सहभागी हुनुको विकल्प नरहेको बताए ।
पत्रकार सम्मेलनमा अदालतको पुनरावलोकन निवेदन फिर्ता लिए विवाद समाधानबारे पुनर्विचार गर्न सकिने संस्थापन पक्षको भनाइबारे सोधिएको प्रश्नमा महतले राजनीतिक सहमति भएपछि मात्रै त्यस्तो निवेदन फिर्ता लिन सकिने जवाफ दिए ।
उनले अधिवेशन स्थगित गरेर दुवै पक्ष बसेर सहमति खोज्ने वातावरण बने आफूहरू त्यसका लागि तयार रहेको दोहो¥याए ।


प्रतिक्रिया दिनुहोस्