काठमाडाैँ । घरजग्गा कारोबारमा उल्लेख्य सुधार आएको देखिएको छ। नेपाल राष्ट्र बैंक सार्वजनिक गरेको प्रतिवेदनले मुलुकभरिको घरजग्गा कारोबारमा उल्लेख्य सुधार आएको देखिएको हाे ।
भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नेपाल राष्ट्र बैंकले संकलन गर्ने रियल-स्टेट कर्जासम्बन्धी तथ्याङ्कमा आधारित रहेर तयार पारिएको यस प्रतिवेदनले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रयमासको राजीनामा कारोबारको तथ्याङ्कलाई विशेष जोड दिएको छ।
प्रतिवेदन अनुसार, आर्थिक वर्ष २०८२/८३ मा घरजग्गाको कुल कारोबार संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा ४.७४ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो कारोबार संख्या घटेर १.८४ प्रतिशतले ओरालो लागेको थियो।
अर्थात् निरन्तर संकुचनमा गइरहेको घरजग्गा बजार यस वर्ष सकारात्मक देखिएकाे छ। चौथो त्रयमासमा हेर्ने हाे भने अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कुल कारोबार संख्या १२.२५ प्रतिशतले बढेको छ, जबकि अघिल्लो वर्षको चौथो त्रयमासमा यस्तो वृद्धिदर १४.६५ प्रतिशत थियो।
कारोबारका प्रकारगत आधारमा हेर्दा, लिखतपारित अन्तर्गतको कारोबार समीक्षा अवधिमा १२.२८ प्रतिशतले बढेको छ, जुन अघिल्लो वर्षको चौथो त्रयमासको १५.४५ प्रतिशत वृद्धिदरभन्दा केही कम हो।
यसको विपरीत, लिखतपारित अन्तर्गतकै राजीनामा कारोबारको संख्यामा भने तीव्र वृद्धि देखिएको छ । यो समीक्षा अवधिमा २२.८८ प्रतिशतले बढेको छ, जुन अघिल्लो वर्षको ८.१५ प्रतिशतको तुलनामा झन्डै तीन गुणा बढी हो। यसले घरजग्गा हस्तान्तरणका सामान्य कारोबारभन्दा राजीनामाका माध्यमबाट हुने कारोबार बढी सक्रिय भएको छ।
कारोबार भएको जग्गाको क्षेत्रफलको हिसाबले पनि विस्तार भएको देखिन्छ। समीक्षा अवधिमा कारोबार भएको कुल क्षेत्रफल १५.४१ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो क्षेत्रफल २.९८ प्रतिशतले घटेको थियो।
आर्थिक वर्ष २०८२/८३ मा कुल ७२०.८६ अर्ब रूपैयाँ बराबरको घरजग्गा कारोबार भएको छ, जुन अघिल्लो आर्थिक वर्षको ३८६.१५ अर्ब रूपैयाँको तुलनामा झन्डै दोब्बर हो। चौथो त्रयमासमा मात्रै २७५.७३ अर्ब रूपैयाँ बराबरको कारोबार भएको छ, जबकि अघिल्लो वर्षको सोही अवधिमा यो रकम १२७.६१ अर्ब रूपैयाँ मात्र थियो। यसरी हेर्दा, कारोबार संख्यामा भएको वृद्धिभन्दा कारोबार रकममा भएको वृद्धि निकै उच्च रहेको देखिन्छ, जसले जग्गाको मूल्यमा पनि वृद्धि भएको संकेत गर्छ।
यस कारोबार वृद्धिको प्रत्यक्ष प्रभाव सरकारी राजस्वमा समेत परेको छ। समीक्षा अवधिमा घरजग्गा कारोबारबाट संकलन भएको कुल राजस्व ४८.२६ प्रतिशतले बढेको छ, जबकि अघिल्लो वर्षको चौथो त्रयमासमा यस्तो राजस्व वृद्धि २३.४५ प्रतिशत मात्र थियो। यसमध्ये पनि पुँजीगत लाभकर ६३.२२ प्रतिशतले बढेको छ, जुन अघिल्लो वर्षको २९.९८ प्रतिशतको तुलनामा दोब्बरभन्दा बढी हो।
साथै, घरजग्गा क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाह भएको कर्जा (आवासीय घरजग्गा कर्जा सहित) पनि ६.९३ प्रतिशतले बढेको छ, जबकि अघिल्लो वर्षको चौथो त्रयमासमा यस्तो कर्जा वृद्धि ५.८६ प्रतिशत थियो।
प्रादेशिक रूपमा हेर्दा चौथो त्रयमासमा बागमती प्रदेशमा घरजग्गाको राजीनामा कारोबार संख्या सबैभन्दा बढी ६९.३८ प्रतिशतले वृद्धि भएको छ, जुन मुलुकभरिमै सबैभन्दा उच्च दर हो। यसको ठीक विपरीत, मधेश प्रदेशमा भने यस्तो कारोबार संख्या ३.४४ प्रतिशतले घटेको छ ।
यो एक मात्र प्रदेश हो जहाँ कारोबार संख्यामा ऋणात्मक वृद्धि देखिएको छ। बाँकी सबै प्रदेशमा भने कारोबार संख्या बढेको छ। कारोबार क्षेत्रफलको वृद्धिदरमा पनि बागमती प्रदेश ५०.२४ प्रतिशतका साथ सबैभन्दा अगाडि छ भने मधेश प्रदेशमा यस्तो क्षेत्रफल ६.१९ प्रतिशतले घटेको छ।
कुल मूल्यको आधारमा भने सबै सातै प्रदेशमा वृद्धि देखिएको छ । बागमती प्रदेशमा सबैभन्दा बढी १७५.३३ प्रतिशत र मधेश प्रदेशमा सबैभन्दा कम तर सकारात्मक ३१.९८ प्रतिशतले कारोबार मूल्य बढेको छ। प्लट क्षेत्रफलको प्रवृत्ति हेर्दा, सातै प्रदेशमा २.५ देखि १० आनासम्मका प्लटहरूमा सबैभन्दा बढी कारोबार भएको छ, जबकि अघिल्लो वर्षको सोही अवधिमा मधेश प्रदेशमा २० आनाभन्दा बढीका प्लटहरूमा बढी कारोबार भएको थियो।
महानगरपालिकाहरूको तुलनात्मक विश्लेषणले सहरी केन्द्रहरूमा भएको उत्साहजनक वृद्धिलाई उजागर गर्छ। चौथो त्रयमासमा काठमाडौँ महानगरपालिकामा घरजग्गाको कुल कारोबार संख्या सबैभन्दा बढी १५५.७४ प्रतिशतले बढेको छ।
यसपछि क्रमशः ललितपुर महानगरपालिकामा १३६.९२ प्रतिशत, पोखरा महानगरपालिकामा १०८.७१ प्रतिशत, भरतपुर महानगरपालिकामा ६३.०४ प्रतिशत, विराटनगर महानगरपालिकामा ४७.५९ प्रतिशत र वीरगंज महानगरपालिकामा २९.१९ प्रतिशतले वृद्धि भएको छ।
क्षेत्रफलको हिसाबले पनि सबै महानगरपालिकामा वृद्धि देखिएको छ, जसमा काठमाडौँ महानगरपालिका २०८.२२ प्रतिशतका साथ सबैभन्दा अगाडी छ भने वीरगंज महानगरपालिकामा सबैभन्दा कम १३.३१ प्रतिशत वृद्धि भएको छ। कुल मूल्यको हिसाबले पनि काठमाडौं महानगरपालिका नै सबैभन्दा उच्च वृद्धिदर (२१७.४० प्रतिशत) सहित अग्रपंक्तिमा रहेको छ।
उप-महानगरपालिकाहरूको अवस्था हेर्दा, कलैया उप-महानगरपालिका बाहेक अन्य सबै उप-महानगरपालिकाहरूमा घरजग्गा कारोबार संख्या बढेको छ। यीमध्ये धनगढी उप-महानगरपालिकामा सबैभन्दा बढी ७३.१६ प्रतिशतले कारोबार संख्या बढेको छ भने कलैयामा भने यस्तो संख्या स्थिर रहेको छ।
कारोबार क्षेत्रफलको सन्दर्भमा भने सबै ११ वटै उप-महानगरपालिकामा वृद्धि भएको छ, जसमध्ये हेटौंडा उप-महानगरपालिका सबैभन्दा बढी १०४.१६ प्रतिशत वृद्धिदरका साथ अगाडि छ। कुल मूल्यको हिसाबले पनि हेटौंडा उप-महानगरपालिका नै सबैभन्दा उच्च वृद्धिदर (१८६.८० प्रतिशत) सहित शीर्षमा रहेको छ।
यस प्रतिवेदनले आर्थिक वर्ष २०८२/८३ मा नेपालको घरजग्गा बजार विगतका वर्षहरूको संकुचनबाट बाहिर निस्केर पुनः सक्रिय बन्दै गएको स्पष्ट संकेत दिएको छ।


प्रतिक्रिया दिनुहोस्