काठमाडौँ । भोटेकोसी बाढीले यातायात र ढुवानी क्षेत्रमा पुर्याको क्षतिको विवरण अझै पूर्णरूपमा सङ्कलन हुन सकेको छैन ।
बाढीले सामान ढुवानी गर्ने यातायातका थुप्रै साधन बगाएको थियो । रसुवा नाकाबाट सामान ढुवानी गर्ने कन्टेनर तथा ट्रक लगायतका गाडीमा कति क्षति भयो भन्नेबारेमा अझै एकीकृत तथ्याङ्क उपलब्ध हुन सकेको छैन ।
सरकारले अध्ययन गर्न सरोकारवाला निकायका प्रतिनिधि संलग्न समिति गठन गरेको छ । यसै विषयमा आज यातायात व्यवस्था विभागमा छलफल बोलाइएको छ । बाढीले झण्डै ४ हजार गाडी बगाएको अनुमान छ । यसमा कन्टेनर, ट्रक लगायतका साधन छन् । बाढीले २ सयओटा सामान भरिएका गाडी बगाएको थियो ।
नेपाल हिमालय व्यापार सङ्घका अध्यक्ष रामहरी कार्कीले सामान भरिएका २ सय ओटा कन्टेनर बगाएको छ ।
अध्यक्ष कार्कीले भने,“सामान लोड गरिएका २ सयओटा गाडी बगेको छ । अन्य संस्थासँग जोडिएका गाडी पनि बगाएको होला । अध्ययनैक्रममा छ ।”
ढुवानी व्यवसायी महासङ्घका उपाध्यक्ष अरुणकुमार श्रेष्ठले ढुवानी क्षेत्रमा भएको क्षतिको एकिन विवरण सङ्कलन भइनसकेको बताए ।
उनले भने,“छलफल र तथ्याङ्क सङ्कलनको काम भइरहेको छ । ६०/७० प्रतिशत जति विवरण सङ्कलन भयो होला । आजको छलफलबाट थप केही आउँला ।” उनले ९८ ओटा कन्टेनर रसुवा र नुवाकोटको बिचमा रोकिएको जानकारी दिए । उनले भने,“ बाढीपछि प्रत्यक्षअप्रत्यक्ष ठुलो क्षति छ । सबै तथ्याङ्क सङ्कलन गरेर एउटा निष्कर्ष आउँला । ”
यातायात व्यवस्था विभागमा आज, ढुवानी व्यवसायी महासङ्घ, ट्रक व्यवसायी महासङ्घ, राष्ट्रिय यातायात व्यवसायी महासङ् र मजदुर सङ्गठनका प्रतिनिधिसँग छलफल हुँदैछ ।


प्रतिक्रिया दिनुहोस्