सरकार र पार्टीको काम बाँडफाँड भएको छ, डुप्लिकेसन आवश्यक छैनः रवि लामिछाने


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले पछिल्लो विपद्को वास्तविक प्रकृति पहिचान गर्न विज्ञमार्फत वैज्ञानिक अध्ययन गराउन सरकारसँग आग्रह गरेका छन्।

बुधबार सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले विपद् जटिल र प्राविधिक प्रकृतिको रहेकाले विज्ञहरूको अध्ययनपछि घटनाको वास्तविक स्वरूप पहिचान तथा नामकरण गर्नुपर्ने बताए।

उनका अनुसार सर्वदलीय बैठकमा पनि विपद्को प्रकृति पहिचान, राहत तथा पुनःस्थापना र जलवायु परिवर्तनका विषयमा छलफल भएको थियो। सरकारले विज्ञको अध्ययनका आधारमा घटनाबारे चाँडै स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने उनले बताए।

लामिछानेले प्रधानमन्त्रीले प्रभावित क्षेत्रका स्थानीय तहका जनप्रतिनिधिसँग निरन्तर संवाद र समन्वय गरिरहेको भन्दै प्रधानमन्त्रीको सक्रियताको बचाउ गरे। स्थानीय तहका प्रमुख तथा वडाध्यक्षसँग फोन र प्रत्यक्ष भेटमार्फत अवस्थाबारे जानकारी लिइरहेको उनले बताए।

सरकार र राजनीतिक दलको भूमिकालाई विगतको अभ्याससँग तुलना नगर्न पनि उनले आग्रह गरे। सरकारको जिम्मेवारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्ले र राजनीतिक दलको जिम्मेवारी सम्बन्धित दलले निर्वाह गर्ने गरी कामको बाँडफाँड भएकाले दुवैको भूमिका एउटै हुन आवश्यक नरहेको उनको भनाइ छ।

सर्वदलीय बैठकले विपद्सम्बन्धी विषयमा राजनीतिक तथा संसदीय तहबाट थप समन्वय र अनुगमन गर्ने विषयमा समेत छलफल गरेको लामिछानेले जानकारी दिए।