काठमाडौँ । नेपाल प्रहरीको, केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले १ अर्ब ३४ करोड ७८ लाख रुपैयाँभन्दा बढीको अवैध हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा २४ वर्षीय युवकलाई पक्राउ गरेको छ । धनुषाको शहिदनगर नगरपालिका–४ निवासी अजयकुमार मुखियालाई हिजाे सिआइबीले पक्राउ गरेको हो ।
मलेसियालगायत विभिन्न मुलुकबाट अवैध रूपमा हुण्डी कारोबार सञ्चालन भइरहेको तथ्य फेला परेको दाबी गरेको छ । अनुसन्धानका क्रममा व्यक्तिगत तथा व्यावसायिक बैंक खाताहरू प्रयोग गरी हालसम्म रु. १ अर्ब ३४ करोड ७८ लाख ३९ हजार १४४ बराबरको अवैध कारोबार भएको पुष्टि भएको ब्यूरोको दाबी छ ।
सिआइबी र जिल्ला प्रहरी कार्यालय, धनुषाको संयुक्त टोलीले मुखियालाई धनुषाबाट पक्राउ गरेको हो । उनीविरुद्ध ‘हुण्डी सम्बन्धी कारोबार गर्न नहुने’ कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सिआइबीका प्रवक्ता अनुपम शमशेर ज.ब.रा. ले अवैध हुण्डी कारोबारमा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी तथा अनुसन्धान तीव्र रूपमा अघि बढाइएको जानकारी दिए । “अवैध हुण्डी कारोबारमा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा अनुसन्धान कार्य तीव्रताका साथ भइरहेको छ,” प्रवक्ता ज.ब.रा.ले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्