काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ३ वर्षपछि पहिलो दैनिक नियमित अन्तर्राष्ट्रिय उडानको अन्तिम प्रतिक्षामा छ ।
यसअघि साप्ताहिक र चार्टर्ड उडान भए पनि पहिलो दैनिक अन्तर्राष्ट्रिय नियमित उडानको रूपमा ‘फ्लाई दुबई’ले असोज ७ (सेप्टेम्बर २३) को साँझ ६ः१५ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग छुनेछ । सार्वजनिक गरिएको कार्यतालिकाअनुसार दुबईदेखि पोखरा आएको फ्लाइ दुबईको जहाज र यात्रुलाई पानीको फोहरासहित फ्लाई दुबईको जहाज र यात्रुलाई स्वागत गरिनेछ ।

हामीले सबै तयारी पुरा गरेका छौँ । अब असोज ७ को पखाइमात्रै हो- जगन्नाथ निराैला, महाप्रबन्धक, पाेखरा अन्तराष्ट्रिय विमानस्थल
फ्लाइ दुबईको एयर बस ३१९/३२० को जहाज पोखराबाट यात्रु लिएर साँझ ७ः१५ बजे दुबईका लागि उड्नेछ । एयर बस ३१९ मा १४० देखि १५० सम्म र एयर बस ३२० मा १६० देखि १८० सम्म यात्रु क्षमताको छ ।
तयारी पुरा
‘फ्लाई दुबई’को दैनिक नियमित उडानको सम्पूर्ण तयारी पुरा भएको विमानस्थलले जनाएको छ । पोखरा विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले भने,“हामीले सबै तयारी पुरा गरेका छौँ । अब असोज ७ को पखाइमात्रै हो ।”
महाप्रबन्धक निरौलाका अनुसार नागरिक उड्ययन प्राधिकरण,नेपाल प्रहरी, भन्सार तथा अध्यागमन कार्यालयको तर्फबाट हुने सम्पूर्ण तयारी पुरा भएको छ । उद्योग वाणिज्य महासङ्घको पर्यटन तथा हवाई यातायात समिति सभापति संघर्ष विष्टले पोखरामा हुन लागेको नियमित उडानले सबैलाई उत्साहित बनाएको बताए ।

पोखरामा हुन लागेको नियमित अन्तराष्ट्रिय उडानले उद्योगी व्यवसायीलाई उत्साहित बनाउनु स्वाभाविक हो । यसलाई निरन्तरता दिन र थप उडान थप्न सरकारले सम्पूर्ण पहल गर्नुपर्छ –संघर्ष विष्ट, सभापति, पर्यटन तथा हवाई यातायात समिति (उद्योग वाणिज्य महासङ्घ)
उनले भने,“पोखरा एयरपोर्टबाट भारतको बनारस लगायत मुख्य सहरमा उडान केन्द्रित गर्ने, चाइनाका नजिकका क्षेत्रमा उडान केन्द्रित गर्ने र पयटकीय हबको रूपमा विमानस्थललाई अगाडि बढाउन सकिन्छ । श्रमिकहरू उडाउने विमानस्थलको रूपमा पनि अगाडि लैजान सकिन्छ ।”
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपालको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल हो । १ जनवरी २०२३ देखि औपचारिक सञ्चालनमा आएको यो विमानस्थलबाट अझै नियमित अन्तराष्ट्रिय उडान हुन सकेको छैन ।
हिमालयन एयरलाइन्सले कही समय प्रयास गरे पनि सफल हुन सकेन । एयरबस ए ३२० र बोइङ ७३७ जस्ता मध्यम दुरीका न्यारो–बडी विमानहरूले सहजै उडान र अवतरण गर्न सक्ने भए पनि केही चार्टर्ड उडानहरू बाहेक नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन ।


प्रतिक्रिया दिनुहोस्