काठमाडौँ । इरान समर्थित हुथी विद्रोहीले हालै ‘रेड सी’मा रणनीतिक रूपमा महत्त्वपूर्ण एक टापुमाथि नियन्त्रण कायम गरेपछि मध्यपूर्वमा सुरक्षा चुनौती थप गम्भीर बनेको छ । अमेरिकी आक्रमणपछि अस्थिर बनेको क्षेत्रीय अवस्थासँगै विश्वव्यापी ऊर्जा सङ्कट झन् चर्किने चिन्ता व्यक्त गरिएको छ ।
अमेरिकी सञ्चारमाध्यम सिएनएनका अनुसा हुथी समूहले अन्ततः विश्व व्यापारका लागि अत्यन्तै महत्वपूर्ण ‘बाब अल मन्डेब जलडमरूमध्यमा’ नियन्त्रण स्थापित गर्ने लक्ष्यसहित आफ्नो प्रभाव विस्तार गरिरहेको छ । अमेरिकी प्रशासनले भने हुथीविरुद्ध प्रत्यक्ष सैन्य हस्तक्षेप गर्ने खास रुचि नदेखाई मुख्य जिम्मेवारी साउदी अरेबियालाई दिएको सङ्केत गरेको छ ।
थप अमेरिकी गुप्तचर सूचना र लक्ष्य पहिचानसम्बन्धी सहयोग प्राप्त हुँदाहुँदै पनि साउदी समर्थित यमनी सरकारी फौजले हुथीलाई प्रभावकारी रूपमा रोक्न सकेको छैन । पछिल्ला महिनाहरूमा हुथीहरूले यमनका महत्वपूर्ण तटीय क्षेत्रहरू कब्जा गर्दै गएको बताइएको छ। यसले अमेरिकी तथा खाडी क्षेत्रका अधिकारीहरूलाई समेत निराश बनाएको छ ।
क्षेत्रीय स्रोतहरू र पूर्व कूटनीतिज्ञहरूका अनुसार साउदी समर्थित यमनी सेनाको कमजोरी लामो समयदेखि जानकारीमा रहेको विषय हो । अमेरिकी गुप्तचर प्रतिवेदनहरूले पनि हुथीहरूले अर्को महत्वपूर्ण सामुद्रिक मार्ग अवरुद्ध गर्ने प्रयास गर्न सक्ने चेतावनी महिनौँअघि नै दिएका थिए ।
अमेरिकाको दाबी भने फरक छ । एक अमेरिकी अधिकारीका अनुसार वासिङ्टनले साउदी अरेबियालाई आवश्यक सबै प्रकारका गुप्तचर तथा लक्षित आक्रमणसम्बन्धी सहयोग उपलब्ध गराइरहेको छ । साथै, करिब एक दशकदेखि यमनी सरकारी सेनालाई प्रशिक्षण दिएको साउदी पक्षले आफ्नो क्षमता प्रति आत्मविश्वास व्यक्त गरेको थियो ।
हुथी र यमन सरकारबिच सङ्घर्ष एक दशकभन्दा लामो समयदेखि जारी छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्सको समर्थन र प्रशिक्षण प्राप्त हुथी विद्रोहीहरू विरुद्ध साउदी समर्थित यमनी सरकारी सेना लडिरहेको छ ।
सन् २०२२ मा संयुक्त राष्ट्रसंघको मध्यस्थतामा भएको युद्धविरामले हिंसा केही समय कम गरेको भए पनि पछिल्ला साताहरूमा फेरि युद्ध तीव्र बनेको छ ।


प्रतिक्रिया दिनुहोस्