नयाँ प्रणालीबाट सवारी चालक अनुमति पत्रको छपाइ सुरु, पहिलो चरणमा ३०८१ वटा छापिने


काठमाडौँ । सरकारले विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (इडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ सुरु गरेको छ।

सेवाग्राहीको चाप र लामो समयदेखि देखिँदै आएको लाइसेन्स छपाइसम्बन्धी समस्यालाई सम्बोधन गर्न नयाँ प्रणालीमार्फत छपाइको काम सुरु गरेको पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभाग जनाएको छ ।

नयाँ प्रणालीअन्तर्गत पहिलो चरणमा मधेश प्रदेशका ३ हजार ८१ वटा सवारी चालक अनुमतिपत्र छपाइ गरी वितरणका लागि हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाइएको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिएका छन ।

मन्त्री लम्सालकाअनुसार नयाँ प्रणालीले नयाँ लाइसेन्स लिने तथा पुरानो लाइसेन्स नवीकरण गर्ने प्रक्रियालाई थप छिटो, सहज र सेवामुखी बनाउने अपेक्षा गरिएको छ।

यस प्रणालीमा सेवाग्राहीको विवरण अपलोड भएपछि उक्त विवरण सिधै सुरक्षण मुद्रणमा पुग्ने व्यवस्था गरिएको छ। सुरक्षण मुद्रणले प्राप्त विवरणका आधारमा चालक अनुमतिपत्र छपाइ गरी हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाउनेछ।

यसअघि चालक अनुमतिपत्र छपाइ तथा वितरणमा ढिलाइलगायतका समस्या देखिँदै आएका थिए। नयाँ प्रणाली कार्यान्वयनसँगै लाइसेन्स छपाइ र वितरण प्रक्रियामा देखिँदै आएका पुराना समस्या समाधान हुने अपेक्षा गरिएको छ।

सम्बन्धित कार्यालयमा लाइसेन्स प्राप्त भएपछि सेवाग्राहीले आफ्नो लाइसेन्स त्यहीँबाट प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ। नयाँ प्रणालीले लाइसेन्सको विवरण संकलनदेखि छपाइ र वितरणसम्मको प्रक्रियालाई थप व्यवस्थित बनाउने विश्वास गरिएको छ।