‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ,पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’


काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा वैकल्पिक सडक निर्माण गरी यातायात सञ्चालनमा ल्याइएको छ। त्रिशूली नदीमा आएको बाढीका कारण भदौ १४ गते ठूलो पहिरो खसेपछि करिब १८ दिनदेखि अवरुद्ध सडक असोज १ गतेदेखि सञ्चालनमा आएको हो।

मुख्य सडक पहिरोले क्षतिग्रस्त भएपछि सडक विभागले तत्काल वैकल्पिक मार्ग निर्माणको काम अघि बढाएको थियो। नागढुङ्गा–मुग्लिङ सडक योजना पश्चिम खण्डकी प्रमुख सजना अधिकारीका अनुसार पहिरोको माथिल्लो भागमा रहेको तुलनात्मक रूपमा समथर भूभागबाट वैकल्पिक सडक निकाल्ने योजना बनाएर काम सुरु गरिएको थियो।

जोखिमपूर्ण अवस्थामा दुवैतर्फबाट मेसिन सञ्चालन गरी ट्रयाक खोलिएको र हाल कृष्णभीरबाट ठूला मालवाहकसहित अन्य सवारीसाधन सहज रूपमा सञ्चालन भइरहेका छन्। रातिको समयमा आवागमन सहज बनाउन सडकमा बत्तीसमेत जडान गरिएको अधिकारीले बताइन्।

तर पहिरोको माथिल्लो भाग अझै स्थिर भइसकेको हो वा होइन भन्नेबारे थप अध्ययन आवश्यक रहेको उनको भनाइ छ। सक्रिय पहिरोको ‘टो’ काटेर तत्काल सडक सञ्चालनमा ल्याइएकाले दीर्घकालीन भू–स्थायित्वबारे अध्ययन गर्नुपर्ने उनले बताइन्।

नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष शहदेव खड्काले अत्यधिक जोखिम मोलेर सडक निर्माण गरिएको बताए। पुरानो सडक पहिरोले बगाइसकेको र बाँकी भूभागसमेत चिराचिरा परेको अवस्थामा सडक निर्माण गरिएको उनले बताए।

उनका अनुसार सडक विभाग, आयोजना, परामर्शदाता, जियोटेक विज्ञ, इन्जिनियर तथा निर्माण कम्पनीका प्राविधिक र मजदुरको प्रत्यक्ष उपस्थितिमा करिब ११ दिनमा वैकल्पिक सडक निर्माण गरी यातायात सञ्चालनमा ल्याइएको हो।

खड्काले आवश्यक पूर्वाधार, निर्माण सामग्री, मुआब्जा, वन तथा विद्युतका समस्या सरकारले समयमै व्यवस्थापन गर्नुका साथै निर्माण व्यवसायीलाई समयमा भुक्तानी र सुरक्षाको प्रत्याभूति गर्न सके पूर्वाधार निर्माणले गति लिने बताए।