काठमाडौँ । होटल व्यवसायी महासङ्घ, नेपालले गत भदौ १० मा आएको भोटेकोसी बाढीबाट भएको क्षतिको विवरण नेपाल उद्योग वाणिज्य महासङ्ङलाई बुझाएको छ ।
रसुवा, नुवाकोट, धादिङ र गोरखालगायतका पर्यटकीय क्षेत्रमा सञ्चालित होटल तथा रेस्टुरेन्ट व्यवसायमा पुगेको क्षतिको विवरण होटल व्यवसायी महासङ्घले उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अध्यक्ष अञ्जन श्रेष्ठलाई हस्तान्तरण गरेको हो ।
होटेल व्यवसायी महासङघका अध्यक्ष टीआर भण्डारी ‘शंकर’ले नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष अञ्जन श्रेष्ठ तथा पर्यटन तथा हवाई समितिका सभापति संघर्ष विष्टसहितका पदाधिकारीसँग भेटघाट गरी बाढी प्रभावित होटल, साना रेस्टुरेन्ट तथा खाजाघरको क्षतिको विस्तृत प्रारम्भिक विवरण र नामावली औपचारिक रूपमा हस्तान्तरण गरेका हुन् ।
उद्योग वाणिज्य महासङ्घको पर्यटन तथा समितिद्वारा आयोजित बैठकमा अध्यक्ष भण्डारीले बाढी प्रभावित क्षेत्रमा हाल उद्धारको कार्य सम्पन्न भई राज्यका तर्फबाट खाद्यान्न र तत्काल राहत पुगेको भए पनि क्षतविक्षत बनेका साना तथा मझौला पर्यटन व्यवसायीलाई पूर्ववत् अवस्थामा फर्काउन दीर्घकालीन पुनःस्थापनाको खाँचो रहेकोमा जोड दिए ।
छलफलमा महासङ्घका अध्यक्ष श्रेष्ठ र पर्यटन तथा हवाई यातायात समितिका सभापति विष्टसमक्ष बाढीका कारण विस्थापित बनेका व्यवसायीलाई पुनः स्थापित गर्न विशेष आर्थिक पुनरुत्थान प्याकेज र अनुदानको व्यवस्था गरिनुपर्ने, प्रभावित व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको पुनःसंरचना, ब्याज मिनाहा वा छुटका लागि सरकारसँग पहल गरिनुपर्नेमा होटेल व्यवसायी महासङ्घका पदाधिकारीले जोड दिएका छन् ।
बीमा गराएका व्यवसायीको दाबी रकम तत्काल भुक्तानी दिलाइनुपर्ने र बिमाको पहुँचबाहिर रहेका ग्रामीण भेगका साना होटल तथा खाजाघर व्यवसायीलाई क्षति मूल्याङ्कनका आधारमा विशेष आर्थिक सहयोग प्रदान गरिनुपर्ने उनीहरूको माग थियो ।
अध्यक्ष भण्डारीले प्रस्तुत गरेको विवरण र मागप्रति अध्यक्ष श्रेष्ठ तथा पर्यटन समिति सभापति संघर्ष विष्टले समर्थन जनाउँदै बाढी प्रभावित पर्यटन व्यवसायीको पुनःस्थापना, बिमा दाबी भुक्तानी र वित्तीय सहुलियतका लागि सरकार तथा राष्ट्र बैंकसँग महासंघको तर्फबाट सशक्त पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्