काठमाडौं । पूर्वाधार विकास समितिले बाढी–पहिरो प्रभावित क्षेत्रमा पुनर्निर्माणको काम तीव्र पार्न सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय गर्न सरकारलाई निर्देशन दिएको छ।
सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले रसुवा, नुवाकोट र धादिङलगायत प्रभावित जिल्लाका सडक, पुल, खानेपानी र ढल पूर्वाधारमा भएको क्षतिको यथार्थ विवरण संकलन गरी तत्काल विस्तृत पुनर्निर्माण कार्ययोजना बनाउन मन्त्रालयलाई निर्देशन दिएको हो।
समितिका सभापति आशिष गजुरेलले बेलीब्रिजलगायतका पूर्वाधार निर्माणमा पछिल्लो समय देखिएको द्रुत कार्यसम्पादनको प्रशंसा गर्दै पुनर्निर्माणमा पनि सोही गति कायम गर्नुपर्ने बताए।
समितिले पुनर्निर्माणका लागि आवश्यक बजेट तथा स्रोत सुनिश्चित गर्न र तीनै तहका सरकारबीच समन्वय कायम गर्नसमेत निर्देशन दिएको छ।
यस्तै, ई–जीपी प्रणाली आगामी कात्तिक १ गतेदेखि पूर्ण रूपमा कार्यान्वयनमा ल्याउन मन्त्रालयलाई तयारी गर्न निर्देशन दिइएको छ। निर्माणाधीन आयोजना समयमै सम्पन्न गर्न निर्माण व्यवसायीका समस्या समाधान तथा मूल्य समायोजनको विषयमा आवश्यक अध्ययन गर्नसमेत समितिले भनेको छ।


प्रतिक्रिया दिनुहोस्