भोटेकोशी पुनर्निर्माणका लागि करिब १ खर्ब बजेट आवश्यक : मन्त्री लम्साल


काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भोटेकोशी विपद्पछिको पुनर्निर्माण तथा पूर्वाधार व्यवस्थापनका लागि करिब १ खर्ब रुपैयाँ बजेट आवश्यक पर्ने बताएका छन् ।

सोमबार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा मन्त्री लम्सालले क्षतिग्रस्त संरचनाको पुनर्निर्माणसँगै भविष्यमा हुने जोखिम न्यूनीकरणका लागि उक्त रकम आवश्यक पर्ने जानकारी दिए ।

विपद् प्राधिकरणले सडक तथा पुल पुनर्निर्माण, वैकल्पिक मार्ग निर्माण र जोखिम न्यूनीकरणका लागि मात्रै करिब ९० अर्ब रुपैयाँको प्रारम्भिक आवश्यकता प्रस्तुत गरेको छ। खानेपानी, भवनलगायतका थप पूर्वाधारको लागत जोड्दा कुल आवश्यकता १ खर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको मन्त्री लम्सालले बताए।

उनकाअनुसार क्षतिग्रस्त संरचना मर्मत तथा कनेक्टिभिटी पुनःस्थापनाका लागि आपत्कालीन टेन्डरमार्फत काम अघि बढिसकेको छ। कृष्णभीरलगायत जटिल भूगोलमा भू–प्राविधिक विज्ञको सुझाव लिएर काम भइरहेको छ।

सरकारले पुनर्निर्माणलाई ‘फास्ट ट्र्याक’मा अघि बढाउने र आवश्यक स्रोत व्यवस्थापन गरी काम नरोक्ने नीति लिएको मन्त्री लम्सालले बताए। साथै, खानेपानीलाई प्राथमिकतामा राख्दै तत्काल वैकल्पिक स्रोतबाट पानी वितरण र दीर्घकालीन समाधानका लागि क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गरिने उनको भनाइ छ।