काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारले राजदूत नियुक्तिका लागि आफैंले बनाएको मापदण्ड पालना नगरेको आरोप लगाएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले परराष्ट्र मन्त्रालयको मापदण्डमा अन्तर्राष्ट्रिय वा विदेशी सहयोगबाट सञ्चालित गैरसरकारी संस्थामा कार्यरत व्यक्ति राजदूतका लागि योग्य नहुने तथा विदेशी राज्यको तलबसहितको पद छाडेको कम्तीमा १० वर्ष पूरा हुनुपर्ने व्यवस्था रहेको दाबी गरे।
सरकारले हालै १३ देशका लागि राजदूत सिफारिस गरेको छ।
शाहीले अमेरिकाका लागि प्रस्तावित चिरनजंग थापा, स्पेनका लागि प्राप्ति शेरचन, जर्मनीका लागि शरू जोशी, ओमानका लागि डा। पद्माक्षी राणा र दक्षिण कोरियाका लागि प्रा डा। सङ्गम श्रेष्ठको विगतको कार्यअनुभवलाई मापदण्डसँग जोडेर प्रश्न उठाए।
उनले सरकारले आफैंले तय गरेको मापदण्डअनुसार राजदूत सिफारिस गरेको हो कि होइन भन्ने स्पष्ट पार्नुपर्ने बताउँदै यसलाई कुशासनको उदाहरणका रूपमा टिप्पणी गरे। प्रस्तावित राजदूतहरूको अन्तिम नियुक्तिअघि संसदीय सुनुवाइ र सम्बन्धित मुलुकबाट एग्रिमो लिनुपर्ने प्रक्रिया बाँकी छ।


प्रतिक्रिया दिनुहोस्