काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाले आफ्नो छोराको बलिदान र न्यायको विषयमाथि भइरहेको राजनीतिक टिप्पणीप्रति आपत्ति जनाएकी छन् ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा उनले आफू पदको लोभमा नभई शहीद परिवारको न्याय र देशको सुधारका लागि संसद्मा आएको स्पष्ट पाारिन् । सांसद खतिवडाले संसदको रोष्टमबाट बोल्दै आफूलाई ‘छोराको लाशसँग सांसद पद साटेको’ भनी लगाइएका अपमानजनक टिप्पणीहरूको सशक्त प्रतिवाद गरिन् । उनले आफ्नो राजनीतिक यात्रा व्यक्तिगत रहर नभई ‘जेन–जी’ आन्दोलनका क्रममा सहादत प्राप्त गरेका युवाहरूको न्यायका लागि भएको जिकिर गरिन् । सम्बन्धित राजनीतिक दल र सरकारलाई लक्षित गर्दै उनले जिम्मेवार भएर बोल्न आग्रह गरिन् ।
खतिवडाले आफू न्याय नपाएसम्म निरन्तर खबरदारी गरिरहने र न्याय प्राप्तिको दिन आफू पदबाट राजीनामा दिन एक सेकेण्ड पनि नहिचकिचाउने प्रतिवद्धता जनाइन्।
उनले भनिन्, ‘मेरो काख रितिएको छ, संसार उजडिएको छ । यदि कसैले मेरो छोरालाई जिउँदो ल्याएर मेरो काखमा राखिदिन्छ भने म अहिले नै सांसद पद त्याग्न तयार छु । म कुनै माफिया बन्न वा जनतालाई उचालेर लडाउन आएकी होइन । म त एउटी सहिदकी आमा हुँ, जो आफ्नो छोरा जस्ता अरू छोराहरू नमरिउन् भनेर खबरदारी गर्न आएकी हुँ ।’
सरकारसँग माग राख्दै सांसद खतिवडाले बन्दी बनाइएका आन्दोलनकारीहरूको रिहाइ, घाइतेहरूको निःशुल्क उपचार र सहिद परिवारको चित्त बुझ्ने गरी न्याय निरूपण गर्न ध्यानाकर्षण गराए।


प्रतिक्रिया दिनुहोस्