श्रम स्वीकृतिबिनै उडाइए कामदार, अध्यागमन अधिकृतमाथि छानबिन


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट श्रम स्वीकृतिबिनै एक यात्रुलाई कुवेत उडाइएको प्रकरणमा अध्यागमन अधिकृतमाथि छानबिन सुरु भएको छ।

असोज ५ गते कुवेत जान लागेका ती यात्रुलाई विमानस्थलबाट गैरकानुनी रूपमा प्रस्थान अनुमति दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेपछि अध्यागमन अधिकृत चेतबहादुर सेजुवाललाई अध्यागमन विभागमा तानिएको हो।

अध्यागमन विभागका अनुसार यात्रुले प्रस्थान अनुमति पाउनुअघि करिब आधा घण्टा अध्यागमन डेस्कमा कुराकानी गरेका थिए। त्यस क्रममा तेस्रो व्यक्तिसँग समेत सम्पर्क भएको र ‘सेटिङ’ मिलाएपछि बिहान ७ः१० बजे प्रस्थान अनुमति दिइएको अनुसन्धानमा देखिएको छ।

घटनाको अनुसन्धानका क्रममा यात्रु उडिसकेपछि मात्रै वैदेशिक रोजगार विभागको प्रणालीमा श्रम स्वीकृतिको प्रक्रिया अघि बढाइएकोसमेत भेटिएको छ। नेपाली पोर्ट प्रणाली र विमानस्थलको सीसीटीभी फुटेजका आधारमा विभागले घटनाको प्रारम्भिक अनुसन्धान गरेको हो।

विभागका निर्देशक टीकाराम ढकालका अनुसार यात्रुलाई उडाउन बिचौलियाको समेत भूमिका देखिएको छ। जापानमा रहेका एक व्यक्तिले बिचौलियालाई क्यूआरमार्फत २३ हजार रुपैयाँ पठाएको र रकम आएको यकिन भएपछि अधिकृतले प्रस्थान अनुमति दिएको प्रारम्भिक छानबिनमा खुलेको उनले बताए।

प्रकरणमा अधिकृतको प्रत्यक्ष संलग्नता देखिएको भन्दै विस्तृत अनुसन्धानका लागि अध्यागमन विभागले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखी पठाएको छ।