सरकारको यो तदारूकता अन्य विकास आयोजनामा पनि देखियोस् : मनिष झा


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा० का सांसद मनिष झाले जानकी मन्दिर क्षेत्रलाई संरक्षित स्मारक क्षेत्रका रूपमा घोषणा गर्ने मन्त्रिपरिषद्को निर्णयको स्वागत गरेका छन्।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद झाले गत वर्षको चुनावी अभियानका क्रममा जनकपुरमा व्यक्त गरिएको प्रतिबद्धताअनुसार जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रिया अघि बढेको भन्दै सरकारप्रति आभार व्यक्त गरे।

उनले चुनावी अभियानको सुरुवातका क्रममा माघ ५ गते जनकपुरमा जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रतिबद्धता व्यक्त गरिएको स्मरण गराउँदै मन्त्रिपरिषद्को पछिल्लो निर्णयले उक्त योजना कार्यान्वयनको दिशामा अघि बढेको बताए।

“गत वर्ष चुनावी अभियानको शुरुवात गर्दै गर्दा माघ ५ गते जनकपुरमा जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रतिबद्धता हामीले व्यक्त गरेका थियौँ,” उनले भने, “सोही प्रतिबद्धताअनुरूप जानकी मन्दिर क्षेत्रलाई संरक्षित प्रतिष्ठान क्षेत्रका रूपमा घोषणा गर्ने निर्णय नेपाल सरकार, मन्त्रिपरिषद्बाट भएकोमा आभार व्यक्त गर्दछु।”

सांसद झाले पछिल्लो समय सरकारी कामकारबाहीमा देखिएको तदारुकताको पनि प्रशंसा गरे। विशेषगरी कृष्णभीरको सडक १२ दिनमै सञ्चालनमा ल्याउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले देखाएको सक्रियताको उनले सराहना गरे।

सरकारले देखाएको यस्तो कार्यगतिले अन्य विकास आयोजनामा पनि निरन्तरता पाउनुपर्ने उनको भनाइ थियो।

यसैबीच, सांसद झाले विभिन्न स्थानमा रहेका बाढीपीडित शिविरको अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।

बाढीपीडितहरू अस्थायी शिविरमा बसिरहेको अवस्थामा महिला तथा बालबालिकाको सुरक्षा चुनौतीपूर्ण बन्दै गएको जानकारी आएको भन्दै उनले सरकारलाई गम्भीर बन्न आग्रह गरे।

असुरक्षित वातावरणका कारण बाढीपीडितहरू थप समस्यामा पर्न सक्ने भएकाले शिविरमा सुरक्षा तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन तत्काल आवश्यक कदम चाल्नुपर्नेमा उनले जोड दिए।