फ्लाईदुबईले ११३ यात्रु लिएर पोखरा आयो,१५२ जना लिएर दुबई फर्कियो (फाेटाेहरू)


काठमाडाैँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको फ्लाईदुबईले पहिलो उडानमै उल्लेख्य संख्यामा यात्रु ओसारपसार गरेको छ। कम्पनीको पहिलो उडानमार्फत दुबईबाट ११३ यात्रु पोखरा आइपुगेका छन् भने पोखराबाट दुबईतर्फ १५२ यात्रु लिएर विमान प्रस्थान गरेको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार फ्लाईदुबईले स्वीकृत उडान तालिकाअनुसार बुधबारदेखि दैनिक रूपमा दुबई–पोखरा–दुबई नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको हो।

फ्लाईदुबईको बी–७३७ म्याक्स–८ विमान (१६६ सिट क्षमता) ले एफजेड ११६५ उडानमार्फत ११३ यात्रु बोकेर नेपाली समयअनुसार साँझ ६ः१८ बजे पोखरा अवतरण गरेको थियो। सोही विमानले एफजेड ११६६ उडान नम्बरबाट साँझ ७ः५५ बजे १५२ यात्रुसहित दुबईका लागि उडान भरेको विमानस्थल प्रवक्ता जसाेदा सुवेदीले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।

१६६ सिट क्षमता रहेको विमानमा पोखराबाट दुबई जाने यात्रु संख्या १५२ पुगेको तथ्यले नयाँ अन्तर्राष्ट्रिय रुटप्रति यात्रुको आकर्षण देखिएको विमानस्थलका अधिकारीहरूको भनाइ छ। पोखराबाट बाहिरिने यात्रुको संख्या आगमन यात्रुभन्दा बढी रहनुले श्रम, व्यवसाय तथा पर्यटनसँग सम्बन्धित यात्रुको माग उच्च रहेको संकेत गरेको छ।

दुबई–पोखरा उडानको अनुमानित अवधि ४ घण्टा ३० मिनेट तथा पोखरा–दुबई उडानको अवधि ४ घण्टा ५० मिनेट रहेको छ। नियमित उडान सुरु भएसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्ससँग प्रत्यक्ष हवाई सम्पर्क स्थापित भएको छ।

विमानस्थल कार्यालयले यसबाट पोखरा तथा गण्डकी प्रदेशको अन्तर्राष्ट्रिय हवाई पहुँच विस्तार, पर्यटन प्रवर्द्धन तथा यात्रु आवागमनमा थप सहजता आउने अपेक्षा गरेको जनाएको छ। साथै आगामी दिनमा पनि नियमित र दिगो अन्तर्राष्ट्रिय हवाई सेवा विस्तारका लागि सम्बन्धित निकायबीच समन्वय र सहकार्य आवश्यक रहने उल्लेख गरिएको छ।