कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन असोज १८ मा


काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह आगामी असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा आयोजना गर्ने भएको छ ।

नेपाली कांग्रेसका कार्यबाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “देशका विभिन्न स्थानमा भारी वर्षाका कारण उत्पन्न असहज परिस्थितिका बीच केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया जारी रहेको जानकारी प्राप्त भएको छ। यस परिस्थितिलाई मध्यनजर गर्दै १५औँ महाधिवेशन उद्घाटन समारोह २०८३ असोज १८ गते दिउँसो २ बजे खुलामञ्चमा हुने व्यहोरा जानकारी गराइन्छ ।”

प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार वडा, गाउँपालिका तथा नगरपालिका तहका अधिवेशन सम्पन्न भइसकेका छन् भने प्रदेशसभा क्षेत्रीय र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन अधिकांश स्थानमा सम्पन्न भइसकेका छन् । केही क्षेत्रमा भने हालैको अविरल वर्षा र बाढीपहिरोबाट सिर्जित प्रतिकूल परिस्थितिका कारण अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया अझै जारी रहेको जनाइएको छ ।

पार्टीले देशका विभिन्न भागमा देखिएको प्राकृतिक विपद्का बाबजुद महाधिवेशनको कार्यतालिकालाई अघि बढाउने निर्णय गर्दै उद्घाटन समारोह निर्धारित मितिमै गर्ने जनाएको छ ।

कांग्रेसले महाधिवेशनलाई ङ्ंगठन सुदृढीकरण, नेतृत्व चयन र आगामी राजनीतिक दिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ । प्राकृतिक विपद्को असरका कारण केही जिल्लामा निर्वाचन प्रक्रिया प्रभावित भए पनि पार्टी नेतृत्वले निर्धारित समयमै महाधिवेशनको उद्घाटन गर्ने तयारीलाई तीव्रता दिएको जनाएको छ ।