काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रीराम न्यौपानेले नेपालमा उत्पादित दक्ष जनशक्ति विदेशिनुपर्ने बाध्यताको अन्त्य गर्न तत्काल नीतिगत सुधार आवश्यक रहेको बताएका छन् ।
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा शुन्य समयमा उनले युवा पुस्तालाई स्वदेशमै भविष्य देखाउन ठोस कार्ययोजना र कानूनी सुनिश्चितताको माग गरेका हुन्।
सांसद न्यौपानेले नेपालको शिक्षा प्रणाली र युवाको श्रम बजारबीचको खाडललाई राष्ट्रिय समस्याका रूपमा प्रश्तुत गरे । राज्यले युवालाई आफ्नै भूमिमा अवसर दिन नसक्दाको परिणामस्वरुप मुलुकले दक्ष जनशक्ति गुमाइरहेको उनले दाबी गरे ।
उनले विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप, पूँजी र अनुभवलाई राष्ट्र निर्माणमा जोड्न सके मात्र मुलुकको विकास सम्भव हुने बताए ।
उनले भने, “नेपालले बच्चा हुर्काउँछ, पढाउँछ र योग्य बनाउँछ, तर युवा अवस्थामा पुग्दा श्रम, सीप र सपना बोकेका युवाहरू विदेशिन बाध्य छन् । शिक्षादीक्षा नेपालमा, देश बनाउने उमेरमा विदेशमा, अनि बुढेशकाल फेरि नेपालमै फर्किने अवस्थाको अन्त्य गर्नुपर्छ ।”
उनले गैरआवासीय नेपाली (एनआरएन) हरूको भावना समेट्दै महत्त्वपूर्ण नीतिगत सुधारका लागि सरकारको ध्यानाकर्षण गराए । उनले वंशजका आधारमा नेपाली पहिचानको सम्मान गर्दै दोहोरो नागरिकताको व्यवस्था, डिजिटल मतदानको सुविधा र राजनीतिक अधिकार सुनिश्चित हुने गरी कानून संशोधन गर्नुपर्नेमा जोड दिए ।


प्रतिक्रिया दिनुहोस्