काठमाडाैँ । जय नेपाल पार्टीका अध्यक्ष डा. धवलशमशेर जबराले नेपालमा पछिल्लो समय लोभ, लालच र प्रलोभन देखाएर धर्म परिवर्तन गराउने गतिविधि बढेको बताएका छन् ।
बिहीबार पार्टीको काठमाडौँ जिल्ला समितिको तदर्थ समिति गठन कार्यक्रममा उनले धर्मान्तरण नरोकिए बहुसंख्यक रहेको हिन्दु अल्पमतमा पर्ने खतरा रहेको बताएका हुन् ।
धर्मान्तरण रोक्न आन्दोलन नै गर्नुपर्ने आवश्यक्ता देखिएको उनको भनाइ छ । उनले जय नेपाल पार्टीको मुख्य एजेण्डा नै संवैधानिक राजतन्त्र र हिन्दु अधिराज्यको पुनःस्थापना भएकोले सोही उद्देश्यसहित अगाडी बढ्नुपर्ने बताए ।
पार्टी हिन्दु अधिराज्यको पक्षमा रहेपनि अन्य धर्मावलम्बीलाई धार्मिक गतिविधि गर्न कुनै अवरोध नगर्ने उल्लेख गरे । तर धर्मान्तरण रोक्न भने जरुरी रहेको उनको भनाइ छ । उनले आफूहरु सक्रिय राजतन्त्रको पक्षमा पनि नरहेको बताए ।
पूर्व राजा ज्ञानेन्द्र शाह पनि सक्रिय राजसंस्थाको पक्षमा नभएको उनको दाबी छ । २१ औँ शताब्दीमा संवैधानिक व्यवस्थाबाहेक राजसंस्था सम्भव नहुने धारणा स्वयं साहबाट समेत आएको उनले दाबी गरे ।
उनले पार्टीले आगामी सबै निर्वाचनमा प्रतिष्पर्धा गर्ने घोषणा पनि गरे । दुईदेखि तीन महिनाभित्र देशभरका जिल्ला, नगर, निर्वाचन क्षेत्र र गाउँपालिकामा तदर्थ समिति गठन गरि स्थानिय तहको निर्वाचनको तयारी थाल्ने उनको भनाइ छ ।
स्थानीय तहमा संगठन निर्माणका लागि सक्रिय र सक्षम व्यक्तिहरू छनोट गरी समयमै उम्मेदवारी दिने तयारी रहेको उनले बताए । समयमै टिकट दिँदा उम्मेदवारले संगठन विस्तार, चुनावी तयारी र जनसम्पर्कका लागि पर्याप्त समय पाउने उनको भनाइ छ ।
राणाले दशैँ–तिहारपछि वा त्यस आसपास गौ संरक्षण तथा गौहत्याविरुद्ध आन्दोलन शुरु गर्ने बताए । धर्मान्तरण तथा धर्म परिवर्तनविरुद्ध पनि आन्दोलन अघि बढाउने उनको भनाइ छ ।
महिला संगठनमार्फत राजा सहितको हिन्दु अधिराज्यका पक्षमा भइरहेको हस्ताक्षर अभियानलाई तिव्रता दिने उनले बताए । उनले पार्टीलाई व्यक्तिकेन्द्रित नभई लोकतान्त्रिक संगठनका रूपमा विकास गर्नुपर्नेमा जोड दिए। पार्टीभित्र कुनै व्यक्तिको ‘देवत्वकरण’ नगर्ने र सबै सदस्यलाई समान हैसियतमा राख्ने उनको भनाइ छ ।
उनले पार्टीका विभिन्न तहमा बहुमतबाट भएका निर्णयलाई सबैले कार्यान्वयन गर्नुपर्ने बताए । असहमति राख्ने सदस्यले आफ्नो धारणा ‘नोट अफ डिसेन्ट’ का रूपमा अभिलेख गर्न सक्ने व्यवस्था गर्ने उनको भनाइ छ ।
राणाले पार्टीको विधानमा युवा तथा महिलामैत्री प्रावधान समावेश गरिएको पनि जानकारी दिए । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था र हिन्दुराज्यको एजेण्डालाई कमजोर बनाएको पनि आरोप लगाए ।


प्रतिक्रिया दिनुहोस्