काठमाडाैँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेस प्रदेशको शिक्षा क्षेत्रका समस्या पहिचान गरी समाधानका उपायसहित मन्त्रालयमा पेश गर्न राजर्षी जनक विश्वविद्यालयलाई निर्देशन दिएका छन् ।
बुधबार धनुषामा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले शिक्षा ऐन निर्माणको प्रक्रियामा अघि बढिरहेको उल्लेख गर्दै मधेसको शिक्षा क्षेत्रमा रहेका समस्या खोज तथा अध्ययनमार्फत पहिचान गर्न विश्वविद्यालयलाई निर्देशन दिए ।
मन्त्री पोखरेलले विश्वविद्यालयहरु पढ्ने र पढाउने कार्यमा मात्र सिमिति हुन नहुने पनि बताए । उनले सम्बन्धित क्षेत्रका समस्याको पहिचान गर्न खोज तथा अनुसन्धात्मक कार्यमा विश्वविद्यालयहरु लाग्नुपर्नेमा जोड दिए ।
उनले मधेस प्रदेशमा शिक्षाको गुणस्तर सुधारका लागि सरकारले गम्भीरताका साथ काम गरिरहेको पनि बताए । नयाँ विश्वविद्यालय स्थापनाका लागि भवन निर्माणको प्रक्रिया समेत अघि बढिसकेको जानकारी दिँदै उनले उपलब्ध स्रोत र क्षमताअनुसार सबै पक्षले काममा केन्द्रित हुनुपर्नेमा जोड दिए । मन्त्री पोखरेलले मधेसका विद्यार्थी उच्च शिक्षाका लागि काठमाडौं जानुपर्ने अवस्थालाई समेत सम्बोधन गर्नुपर्ने बताए ।
राजर्षी जनक विश्वविद्यालयले अन्य विश्वविद्यालयको स्तरमा पुग्न अझै काम गर्नुपर्ने आवश्यकता रहेको पनि उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्