घटस्थापनामा एमएडब्ल्यू अर्थमुभर्सद्वारा २७ भन्दा बढी जेसीबी मेसिन हस्तान्तरण


काठमाडौं । नेपालमा जेसीबीको आधिकारिक विक्रेता एमएडब्ल्यू अर्थमुभर्सले बडादशैँको पहिलो दिन घटस्थापनाको अवसरमा देशभरका १२ शाखाबाट २७ भन्दा बढी जेसीबी मेसिन ग्राहकलाई हस्तान्तरण गरेको छ । कम्पनीले “जेसीबी शुभारम्भ” कार्यक्रमअन्तर्गत मेसिन हस्तान्तरण गरेको हो ।

घटस्थापनाको परम्पराअनुसार आयोजित समारोहमा प्रत्येक मेसिनको विधिपूर्वक पूजा गरी टीका र माला अर्पण गरिएको थियो । त्यसपछि ग्राहकका परिवारजन तथा एमएडब्ल्यू अर्थमुभर्सका प्रतिनिधिको उपस्थितिमा ग्राहकलाई मेसिनको चाबी हस्तान्तरण गरिएको थियो । समारोहको अन्त्यमा केक काट्नुका साथै मिठाई वितरण गरिएको कम्पनीले जनाएको छ । ग्राहकहरूले नयाँ मेसिन सञ्चालन गर्दै शाखा परिसरबाट प्रस्थान गरेका थिए ।

हस्तान्तरण गरिएका मेसिनमा जेसीबी ३डीएक्स ब्याकहो लोडर, एक्साभेटर, एग्रीम्याक्सलगायतका मोडेल रहेका छन् ।

कार्यक्रममा एमएडब्ल्यू अर्थमुभर्स प्रालिका प्रमुख सञ्चालन अधिकृत दुर्गाप्रसाद निरौलाले घटस्थापनाको दिन २७ भन्दा बढी ग्राहकले नयाँ जेसीबी मेसिनसँगै आफ्नो व्यवसायको नयाँ सुरुवात गरेको बताए ।

“घटस्थापनाको दिन हामी सबै शुभ काम सुरु गर्छौँ । आज २७ भन्दा बढी ग्राहकले नयाँ जेसीबीसँग आफ्नो व्यवसायको नयाँ सुरुवात गर्नुभएको छ । हाम्रो लागि यो केवल मेसिन हस्तान्तरण होइन, २७ भन्दा बढी परिवार र व्यवसायको शुभारम्भ हो । हामीमाथि भरोसा गर्नुहुने सबै ग्राहकप्रति हामी आभारी छौँ,” उनले भने ।

हस्तान्तरण गरिएका मेसिन विभिन्न जिल्लामा पूर्वाधार विकास, सडक निर्माण र कृषिलगायतका क्षेत्रमा परिचालन हुनेछन् । ती मेसिनले देशको आर्थिक विकासमा योगदान पुर्‍याउने अपेक्षा कम्पनीले गरेको छ ।

एमएडब्ल्यू अर्थमुभर्सले २४ वर्षभन्दा बढी समयदेखि नेपालमा जेसीबी मेसिन तथा सेवा उपलब्ध गराउँदै आएको छ । कम्पनीका अनुसार देशभर फैलिएको सञ्जालमार्फत हाल १२ हजारभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ ।