काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री डा। मोहम्मद फिर्दोस आलमले पार्टीलाई एकढिक्का बनाएर नयाँ उचाइमा पुर्याउने बताएका छन् ।
कांग्रेसको १५औँ महाधिवेशनमा मुस्लिम क्लस्टरबाट सहमहामन्त्रीमा निर्वाचित भएपछि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै आलमले नवनिर्वाचित सभापति गगनकुमार थापाले सबैलाई समेटेर पार्टीलाई अघि बढाउने विश्वास व्यक्त गरे ।
उनले विगतमा नेतृत्व तहबाट भएका कमजोरी सुधार गर्दै कांग्रेसको ऐतिहासिक पहिचानलाई निरन्तरता दिने बताए । मुलुकमा सङ्कट पर्दा कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि जनताको विश्वास कायम राख्ने गरी पार्टी अघि बढ्ने धारणा राखे ।
पार्टी कार्यालय सानेपा सबै कांग्रेसजनको साझा थलो भएको बताउँदै आलमले सबैलाई समेटेर पार्टीलाई एकताबद्ध बनाउने बताए । थापाले समाज, देश र पार्टीको आवश्यकता तथा जनताको चाहना बुझेको भन्दै उनले सक्षम नेतृत्वबाट कांग्रेसले नयाँ उचाइ हासिल गर्ने विश्वास व्यक्त गरे ।
आलमले सरकारलाई जनउत्तरदायी र जवाफदेही बनाउन कांग्रेसले निरन्तर खबरदारी गर्ने पनि बताए । सरकारका कमजोरी औँल्याउँदै जनताका अपेक्षाअनुसार काम गर्न प्रेरित गर्नु प्रतिपक्षको जिम्मेवारी भएको उनको भनाइ छ ।
वर्तमान सरकारप्रति जनताको अपेक्षा धेरै भए पनि त्यसअनुसार काम हुन नसकेको टिप्पणी गर्दै उनले चाडपर्वका बेला बढ्न सक्ने महँगी नियन्त्रण गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।


प्रतिक्रिया दिनुहोस्