काठमाडौं । संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) का महानिर्देशक चु डोङ्युले विश्वमा भोकमरी अन्त्य गर्न आवश्यक क्षमता, साधन, प्रविधि र ज्ञान उपलब्ध भए पनि तिनको व्यापक प्रयोग हुन नसक्दा खाद्य सुरक्षा सुनिश्चित गर्न चुनौती भइरहेको बताएका छन् ।
विश्व खाद्य दिवस २०२६ का अवसरमा वक्तव्य जारी गर्दै नवप्रवर्तनको अभावभन्दा पनि समाधानका उपयुक्त विकल्पलाई स्थानीय आवश्यकता अनुकूल बनाउँदै व्यापक रूपमा प्रयोगमा ल्याउन नसक्नु प्रमुख समस्या रहेको बताएका हुन् ।
कृषि–खाद्य प्रणालीमा नवप्रवर्तनको प्रयोग विस्तार गर्न सके खाद्य सुरक्षा, पोषण, किसानको जीविकोपार्जन र वातावरणीय संरक्षणमा सुधार ल्याउन सकिने उनको भनाइ छ ।
“आज नवप्रवर्तन गरौँ, भोलि पोषण सुनिश्चित गरौँ” भन्ने यस वर्षको विश्व खाद्य दिवसको नाराले पनि कृषि–खाद्य प्रणालीको रूपान्तरणमा नवप्रवर्तनको महत्त्वलाई उजागर गरेको उनले उल्लेख गरेका छन् । शुक्रवार विश्वभर विभिन्न कार्यक्रम आयाेजना गरी दिवस मनाइरहेकाे छ ।
डोङ्युका अनुसार सन् २०२५ मा विश्वभर ६४ करोड ५० लाख मानिसले भोकमरीको सामना गरेका थिए भने करिब तीनमध्ये एक जना मानिसले स्वस्थकर आहार जुटाउन नसकेकाे तथ्यांक छ।
विज्ञान र प्रविधिमा उल्लेखनीय प्रगति भए पनि पोषणयुक्त खाद्य उत्पादन, खाद्यवस्तुमा पहुँच, जीविकोपार्जन सुधार र प्रतिकूल परिस्थितिको सामना गर्ने क्षमता विकासमा सहयोग पुर्याउने नवप्रवर्तन अझै धेरै मानिसको पहुँचबाहिर रहेको उनले बताएका छन् ।
उनले प्रमाणित समाधानलाई स्थानीय अवस्था अनुकूल, किफायती र लगानीयोग्य विकल्पमा रूपान्तरण गर्नुपर्नेमा जोड दिएका छन् । यसो गर्न सके किसान तथा कृषि–खाद्य उद्यमले नयाँ प्रविधि र अभ्यास अपनाउन, तिनलाई निरन्तरता दिन तथा व्यापक स्तरमा विस्तार गर्न सक्ने उनको भनाइ छ ।
डिजिटल प्रविधिदेखि परम्परागत ज्ञानसम्मको उपयोग
कृषि–खाद्य प्रणालीको रूपान्तरणका लागि उन्नत उत्पादन, राम्रो पोषण, स्वस्थ वातावरण र राम्रो जीवनलाई एकीकृत रूपमा अघि बढाउनुपर्ने डोङ्युले बताएका छन् ।
यसका लागि डिजिटल प्रविधि, वैज्ञानिक अनुसन्धान, स्थानीय ज्ञान र आधुनिक कृषि अभ्यासको प्रभावकारी संयोजन आवश्यक रहेको उनले उल्लेख गरेका छन् ।
उनका अनुसार डिजिटल परामर्श सेवाले किसानलाई मौसम पूर्वानुमान, बजार मूल्य र खेतीसम्बन्धी सुझाव उपलब्ध गराउन सक्छन् । यसबाट रोपाइँ, बाली व्यवस्थापन र बजारीकरणसम्बन्धी निर्णय सुधार गर्न सकिन्छ । त्यस्तै, पशुरोग निगरानी तथा पूर्वचेतावनी प्रणालीले रोगको जोखिम समयमै पहिचान गरी त्यसको फैलावट रोक्न सहयोग पुर्याउँछ ।
माटोको चिस्यान र पोषक तत्त्व मापन गर्ने सेन्सर तथा सटीक सिँचाइ प्रविधिले पानी र कृषि सामग्रीको प्रभावकारी उपयोगमा सहयोग गर्ने उनले बताएका छन् ।
भूउपग्रह तथा भूस्थानिक प्रविधिले वन र भूमिको उपयोगमा भइरहेका परिवर्तनको अनुगमन गर्न तथा बजारका तथ्याङ्क र पूर्वचेतावनी प्रणालीले खाद्यवस्तुको मूल्य, आपूर्ति र व्यापारमा पर्न सक्ने दबाबको पूर्वानुमान गर्न मद्दत गर्ने उनको भनाइ छ ।
डोङ्युले परम्परागत कृषि ज्ञान र स्थानीय समुदायका अभ्यासलाई पनि नवप्रवर्तनको महत्त्वपूर्ण स्रोतका रूपमा व्याख्या गरेका छन् । किसान, आदिवासी जनजाति तथा स्थानीय समुदायले पुस्तौँदेखि बालीका विभिन्न जातको संरक्षण, जलस्रोत व्यवस्थापन, माटो संरक्षण र जैविक विविधताको संरक्षणमा योगदान दिँदै आएको उनले उल्लेख गरेका छन् ।
एफएओको ‘विश्वव्यापी महत्त्वका कृषि सम्पदा प्रणाली’ (जीआईएएचएस) कार्यक्रममार्फत यस्ता कृषि प्रणालीको पहिचान र संरक्षणमा सहयोग गरिँदै आएको उनले बताएका छन् । परम्परागत ज्ञानलाई आधुनिक विज्ञान तथा प्रविधिसँग जोड्न सके बदलिँदो जलवायु र वातावरणीय चुनौतीसँग अनुकूलित हुन उत्पादकलाई सहयोग पुग्ने उनको धारणा छ ।
साना किसानको पहुँच बढाउन लगानी र सहकार्य आवश्यक
नवप्रवर्तनको प्रयोग र विस्तारमा वित्तीय स्रोत, प्रविधि, पूर्वाधार, सूचना, बजार तथा सञ्चार सञ्जालमा सीमित पहुँच प्रमुख अवरोधका रूपमा रहेको डोङ्युले बताएका छन् । विशेषगरी महिला तथा युवासहित लाखौँ साना उत्पादकले यस्ता स्रोतमा पर्याप्त पहुँच नपाउँदा उपलब्ध समाधानको लाभ लिन नसकेको उनले उल्लेख गरेका छन् ।
यो अवस्था सुधार गर्न विज्ञान, नवप्रवर्तन र सेवा प्रवाहबीचको सम्बन्ध बलियो बनाउनुपर्ने उनको भनाइ छ । सरकार, निजी क्षेत्र, अनुसन्धान संस्था, उत्पादकका सङ्गठन र स्थानीय समुदायबीच सहकार्य बढाउनुका साथै सार्वजनिक कृषि प्रसार प्रणाली, सहकारी र साझा डिजिटल मञ्चमार्फत सेवा विस्तार गर्नुपर्ने उनले बताएका छन् ।
प्रयोगकर्तासँगै मिलेर समाधानको विकास गर्दा स्थानीय आवश्यकता सम्बोधन गर्न सकिने र त्यसको प्राविधिक तथा आर्थिक व्यवहार्यता बढ्ने डोङ्युको भनाइ छ । स्थानीय अवस्थाअनुसार तयार गरिएका समाधान प्रयोग गर्न, निरन्तरता दिन र विस्तार गर्न पनि सहज हुने उनले उल्लेख गरेका छन् ।
कृषि–खाद्य प्रणालीको वातावरणीय प्रभाव घटाउन पनि नवीन अभ्यास आवश्यक रहेको उनले उल्लेख गरेका छन् । विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनको करिब एकतिहाइ हिस्सा कृषि–खाद्य प्रणालीबाट आउने र विश्वमा स्वच्छ पानीको कुल उपयोगमध्ये अनुमानित ७० प्रतिशतभन्दा बढी हिस्सा यसै क्षेत्रमा खर्च हुने तथ्य प्रस्तुत गर्दै उनले स्रोतको दिगो उपयोग र जलवायु परिवर्तनसँग अनुकूलनका लागि नवप्रवर्तनको महत्त्व औँल्याएका छन् ।
नवप्रवर्तनलाई लगानीयोग्य परियोजनामा बदल्नुपर्ने
डोङ्युले नवप्रवर्तनको वास्तविक प्रभाव त्यसलाई लगानीयोग्य र बैंक तथा वित्तीय संस्थाबाट ऋण वा वित्तीय सहयोग प्राप्त गर्न सकिने परियोजनामा रूपान्तरण गरेपछि मात्र देखिने बताएका छन् । यसका लागि विज्ञान र प्रविधिलाई सुदृढ परियोजना निर्माण, व्यवहार्य व्यावसायिक नमुना, जोखिम बाँडफाँट गर्ने वित्तीय उपकरण तथा सार्वजनिक र निजी क्षेत्रको लगानीसँग जोड्नुपर्ने उनको भनाइ छ ।
सम्भावनायुक्त समाधानलाई परीक्षणको चरणबाट व्यावसायिक स्तरमा पुर्याउन सके आर्थिक, सामाजिक तथा वातावरणीय प्रतिफल मापन गर्न सकिने उनले उल्लेख गरेका छन् ।
यस प्रक्रियामा सरकारले अनुसन्धान, पूर्वाधार र कृषि प्रसार सेवामा लगानी गर्दै अनुकूल नीतिगत वातावरण बनाउन सक्ने तथा निजी क्षेत्रले नयाँ विचारलाई किफायती वस्तु र सेवामा रूपान्तरण गर्न सक्ने उनको धारणा छ । उत्पादक तथा समुदायले भने स्थानीय आवश्यकता र व्यावहारिक अनुभवका आधारमा समाधानलाई प्रभावकारी बनाउन योगदान पुर्याउन सक्छन् ।
उनले नवप्रवर्तनको महत्त्व विकासशील मुलुकमा मात्र सीमित नरहेको पनि बताएका छन् । जटिल बन्दै गएका विश्व खाद्य बजारमा आपूर्ति अवरोध र नयाँ जोखिमको पूर्वानुमान गर्न सुधारिएका तथ्याङ्क तथा विश्लेषणात्मक उपकरण आवश्यक हुने उनको भनाइ छ ।
विश्वको एउटा भागमा उत्पन्न संकटले अन्यत्र खाद्यवस्तुको मूल्य र उपलब्धतामा असर पार्न सक्ने भएकाले नवप्रवर्तनले आपूर्ति शृङ्खला बलियो बनाउन, प्रतिस्पर्धात्मक क्षमता बढाउन र उपभोक्ताको हित संरक्षण गर्न सहयोग पुर्याउने उनले उल्लेख गरेका छन् ।
डोङ्युका अनुसार नवप्रवर्तनको प्रभावकारी उपयोगका लागि स्थानीय आवश्यकता अनुकूल समाधान, उपयुक्त नीतिगत समर्थन, दीर्घकालीन लगानी र बहुपक्षीय सहकार्य आवश्यक छन् ।
उपलब्ध ज्ञान र प्रविधिको लाभ आवश्यकतामा रहेका मानिस तथा समुदायसम्म पुर्याउन सके मात्र कृषि–खाद्य प्रणालीको रूपान्तरणले अपेक्षित परिणाम दिन सक्ने उनले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्