चाडपर्वमा डिजिटल वालेटमा रकम जम्मा गर्ने सीमा बढ्यो, दिनमा ५० पटकसम्म रकम जम्मा गर्न पाइने


काठमाडौँ । नेपाल राष्ट्र बैंकले चाडपर्वलाई लक्षित गर्दै भुक्तानी सेवा प्रदायकमार्फत वालेटमा रकम जम्मा गर्न सकिने दैनिक सीमा अस्थायी रूपमा बढाएको छ।

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले जारी गरेको परिपत्रअनुसार प्राकृतिक व्यक्तिले वालेटमा एक दिनमा बढीमा ५० पटकसम्म रकम जम्मा गर्न सक्ने व्यवस्था गरेको छ।

परिपत्रमा उल्लेख भएअनुसार दसैंको शुभ अवसरमा २०८३ साल असोज २१ गतेदेखि कात्तिक ५ गतेसम्म तथा तिहार र छठ पर्वका अवसरमा कात्तिक २१ गतेदेखि २९ गतेसम्म उक्त व्यवस्था लागू हुनेछ।

चाडपर्वका बेला डिजिटल भुक्तानीको कारोबार बढ्ने भएकाले सेवाग्राहीलाई सहज बनाउन राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो।

राष्ट्र बैंकले उक्त अवधिमा भएको कारोबारको संख्या र कुल रकमबारे विभागलाई जानकारी गराउनसमेत भुक्तानी सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ।