दसैँ बिदामा आकस्मिकदेखि प्रसूति सेवासम्म नियमित राख्न निर्देशन


काठमाडौं । दसैँ बिदाका कारण बिरामीले उपचारबाट वञ्चित हुन नपरोस् भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका संघीय सरकारी अस्पताललाई अत्यावश्यक स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले प्रदेशका स्वास्थ्य हेर्ने मन्त्रालय तथा संघीय सरकारी अस्पताललाई आवश्यक स्वास्थ्यकर्मी र कर्मचारीको व्यवस्था गरी आकस्मिक, शल्यक्रिया, प्रसूति तथा सघन उपचार सेवा निरन्तर सञ्चालन गर्न भनेको हो ।

चाडपर्वका बेला अस्पतालमा स्वास्थ्य सेवा प्रभावित हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै मन्त्रालयले बिदाको समयमा अस्पताल पूर्ण रूपमा बन्द नगर्न र अत्यावश्यक सेवा कुनै पनि अवस्थामा अवरुद्ध हुन नदिन स्पष्ट निर्देशन दिएको छ ।

मन्त्रालयले उपचारका क्रममा आवश्यक पर्ने औषधि, स्वास्थ्य उपकरण, रगत तथा रक्तजन्य पदार्थ र अन्य स्वास्थ्य सामग्रीको पर्याप्त मौज्दात सुनिश्चित गर्नसमेत अस्पतालहरूलाई आग्रह गरेको छ । यसले दसैँ बिदामा पनि आकस्मिक उपचार आवश्यक पर्ने बिरामीलाई सहज रूपमा सेवा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

त्यस्तै, अस्पतालमा सेवा प्रवाहका क्रममा देखिने समस्या तथा सेवाग्राहीका गुनासो तत्काल सम्बोधन गर्न प्रत्येक अस्पतालले एक जना सम्पर्क व्यक्ति तोक्नुपर्ने व्यवस्था गरिएको छ । सम्पर्क व्यक्तिको नाम, पद, सम्पर्क नम्बर र ड्युटी रोस्टरसहितको विवरण मन्त्रालयले तोकेको इमेलमा पठाउन पनि निर्देशन दिइएको छ ।

दसैँका बेला सार्वजनिक बिदा भए पनि बिरामीको उपचार र स्वास्थ्य सुरक्षासँग सम्बन्धित सेवा प्रभावित हुन नहुनेमा जोड दिँदै मन्त्रालयले निर्देशनको प्रभावकारी कार्यान्वयन गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

साथै, बिदाभर नागरिकले आवश्यक स्वास्थ्य सेवा सहज रूपमा प्राप्त गर्न सक्ने अवस्था सुनिश्चित गर्न निर्देशनको कार्यान्वयन तथा अनुगमन गर्न पनि मन्त्रालयले सम्बन्धित निकायलाई भनेको छ ।