सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु


सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गबाट यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन जना महिलाको मृत्यु भएको छ। दुर्घटनामा चालकसहित चार जना घाइते भएका छन् भने तीन जना बेपत्ता छन्।

आइतबार बिहान करिब २ः३० बजे काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको जिप सडकबाट करिब २०० मिटर तल सुनकोशी नदीमा खसेको हो।

दुर्घटनामा मृत्यु भएका तीनै जना महिला रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते हुनेमा जिप चालक ओखलढुंगाका २९ वर्षीय आशिष बिष्ट, खोटाङको दिक्तेल नगरपालिका–३ की ३८ वर्षीया सम्झना राई, उनकी १२ वर्षीया छोरी सिवानी राई र दिक्तेल नगरपालिका–१ का १३ वर्षीय अंकित विक छन्।

घाइते चारै जनालाई उद्धार गरी सुरुमा उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ सेन्टरमा लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि सिन्धुली जिल्ला अस्पताल पठाइएको छ।

चालकको भनाइअनुसार दुर्घटनापछि तीन जना बेपत्ता छन्। उनीहरूको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ।

इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलको कमान्डमा सात जना प्रहरी तथा सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन बेस खुर्कोटबाट सशस्त्र प्रहरी नायब निरीक्षक नरेन्द्र गुरुङको कमान्डमा गोताखोरसहितको टोली घटनास्थलमा खटिएको छ।

संयुक्त सुरक्षा टोलीले सुनकोशी नदीमा बेपत्ताहरूको खोजी तथा उद्धार कार्य जारी राखेको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन भने मृतक र बेपत्ता व्यक्तिहरूको विस्तृत विवरण आउन बाँकी छ।