काठमाडौं । विश्वभर देखिएको साइबर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले आफ्नो वेबसाइटलगायतका सेवा अस्थायी रूपमा बन्द गरेको छ।
बिहिबारदेखि नै नेपालमा सरकारी निकाय तथा बैंक तथा वित्तीय संस्थाका वेबसाइट र अनलाइन सेवासमेत प्रभावित भएका छन्।
नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको अत्यन्त जरुरी सूचनामा वेब प्रविधि (PHP) मा देखिएको गम्भीर सुरक्षा जोखिमलाई ध्यानमा राख्दै वेबसाइटलगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरिएको जनाएको छ।
यसबाट बैंकिङ तथा वित्तीय क्षेत्रका सरोकारवाला निकाय र सर्वसाधारणमा असुविधा परेको छ। जोखिम नियन्त्रणका लागि आवश्यक सुरक्षा सतर्कता अपनाउन र नियमित सुरक्षा निगरानी बढाउन सम्बन्धित निकायलाई आग्रह गरिएको छ।
राष्ट्र बैंकले जोखिमलाई केन्द्रित गर्दै आवश्यक सुरक्षा सतर्कता अपनाउन, प्रयोगमा रहेका प्रणालीलाई सबलीकरण गर्न र नियमित सुरक्षा निगरानी बढाउन सम्पूर्ण बैंक तथा वित्तीय संस्था, भुक्तानी प्रणाली सञ्चालक (पीएसओ), भुक्तानी सेवा प्रदायक (पीएसपी) तथा विप्रेषण कम्पनीहरूलाई अपिल गरेको छ।
विश्वव्यापी रूपमा देखिएको सुरक्षा जोखिमले नेपालका सरकारी वेबसाइट तथा वित्तीय संस्थाका डिजिटल सेवामा समेत असर पारेपछि अनलाइन सेवाको नियमित सञ्चालनमा अन्योल देखिएको छ।
आवश्यक सुचनाहरु आधिकारिक सामाजिक सञ्जालबाट प्रवाह हुने पनि राष्ट्र बैंकले जनाएको छ ।
सुरक्षा जोखिम नियन्त्रण तथा प्राविधिक परीक्षणपछि सेवा पुनः सञ्चालनमा आउने अपेक्षा गरिएको छ।


प्रतिक्रिया दिनुहोस्