भोटेकोशी र कालीगण्डकीका विपद् प्रभावित क्षेत्रमा ९५ करोडको राहत सामग्री परिचालन


काठमाडौं । भोटेकोशी तथा कालीगण्डकी करिडोरका विपद् प्रभावित क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामार्फत करिब ९५ करोड रुपैयाँ बराबरको राहत सामग्री परिचालन भएको छ ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णबहादुर राउतले गैरसरकारी संस्थाबाट ९४ करोड ९४ लाख ९४ हजार ५६७ रुपैयाँ बराबरको राहत सामग्री सहयोग प्राप्त भएको जानकारी दिए ।

मंगलबार सिंहदरबारमा बसेको विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा उनले अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट ७२ करोड २१ लाख र राष्ट्रिय गैरसरकारी संस्थाबाट २२ करोड ७३ लाख रुपैयाँ बराबरको राहत सामग्री प्राप्त भएको बताए ।

त्यस्तै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड ७१ लाख रुपैयाँ नगद जम्मा गरेका छन् ।

विपद् प्रभावित १५ स्थानीय तहमा राहत तथा पुनःस्थापनाका कार्यक्रम छिटो सञ्चालन गर्न सरकारले परियोजना स्वीकृतिको प्रक्रिया छोट्याएको छ । अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका १३ वटा संशोधित परियोजना र चारवटा नयाँ परियोजनाले स्वीकृति पाएका छन् । त्यस्तै, राष्ट्रिय गैरसरकारी संस्थाका ३१६ वटा नयाँ परियोजना स्वीकृत भएका छन् ।

सचिव राउतका अनुसार विपद् प्रभावित क्षेत्रमा १५ हजार ७०१ जनालाई मनोसामाजिक प्राथमिक सहायता प्रदान गरिएको छ भने ९१ जना बालबालिकालाई थप विशिष्टीकृत सेवाका लागि एकद्वार संकट व्यवस्थापन केन्द्रमा पठाइएको छ ।

त्यसैगरी, १५ स्थानीय तहमा १४४ जना अपाङ्गता भएका व्यक्ति प्रभावित भएको विवरण संकलन गरिएको छ । तीमध्ये सात जनाको मृत्यु भएको, ७६ जना विस्थापित भएको र १६ जना सम्पर्कविहीन वा बेपत्ता रहेको उनले जानकारी दिए ।

मन्त्रालयले राहत, उद्धार तथा पुनःस्थापनाका कार्यक्रम प्रभावकारी बनाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र स्थानीय सरकारसँग समन्वय गरी एकद्वार प्रणालीबाट सहयोग परिचालन गरिरहेको जनाएको छ ।