काठमाडौँ । मकवानपुरको भीमफेदी–कुलेखानी–काठमाडौं सडक खण्डको चिसापानी गढीमा भएको इभी माइक्रो बस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको म.प्र.०३–००१ ज ०८८० नम्बरको २० यात्रु बोकेको इभी हाइस सडकबाट करिब ५०० मिटर तल भिरमा खस्दा चालकसहित १४ जनाको ज्यान गएको हो ।
नेपाल प्रहरीका अनुसार घटनास्थलबाट १४ जनाको शव फेला परेको तथा घाइते ६ जनालाई तत्काल उपचारका लागि हेटौंडा अस्पताल पठाइएको थियो ।
मृतकहरूमध्ये अधिकांश सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका रहेको खुलेको छ ।
दुर्घटनामा चालक रविशंकर कुमार मण्डलसहित बिकेश यादव, पुनम यादव, गुड्डु यादव, गायत्री देवी, राम दुलार यादव, सुबोध यादव, रोहन यादव, राकेश यादव, रामप्रसाद राय यादव र सुधेश यादवको मृत्यु भएको छ । दुर्घटनामा दिक्षा यादव (७), दिपिका यादव (५) र अनु कुमारी यादव (१०) को समेत घटनास्थलमै ज्यान गएको छ।
घटनामा गम्भीर घाइते भएका ३ वर्षीय सुजन यादव, १४ महिनाका सुदिप यादव र देवेन्द्र रायलाई थप उपचारका लागि काठमाडौं र भरतपुरका अस्पतालमा रिफर गरिएको छ । अन्य तीन घाइते मुकेश यादव, सक्षम कुमार यादव र देवेन्द्र राय उपचारपछि डिस्चार्ज भएका छन् ।
दुर्घटनामा एकै टोल र आपसमा नातागोता जोडिएका धेरै व्यक्तिको ज्यान गएपछि सर्लाहीको सुन्दरपुरटोल शोकमग्न बनेको छ ।
दुर्घटनाको कारण खुल्न बाँकी रहेकाले प्रहरीले प्राविधिक तथा यान्त्रिक पक्षको अनुसन्धान थालेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्