यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेल पक्राउ


काठमाडौं । वैदेशिक रोजगारीका नाममा श्रमिकबाट असुल गरिएको करिब १ अर्ब ६६ करोड रुपैयाँ गैरकानुनी रूपमा मलेसिया पठाएको आरोपमा यातायात व्यवस्था विभागका वर्तमान महानिर्देशक राजिव पोखरेलसमेत पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले मानव तस्करी तथा सङ्गठित अपराधसम्बन्धी अनुसन्धानका क्रममा हाल यातायात व्यवस्था विभागको नेतृत्व गरिरहेका राजिव पोखरेल लाई समेत नियन्त्रणमा लिएको हो ।

पोखरेल तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत रोजगार व्यवस्थापन महाशाखाका प्रमुख रहँदा उक्त निर्णय प्रक्रियामा संलग्न रहेको आरोप छ ।

यसै प्रकरणमा पूर्व श्रममन्त्री शेरबहादुर कुँवर, पूर्वमन्त्री रामेश्वर राय यादव, पूर्वसचिव विनोद केसी, तत्कालीन रोजगार व्यवस्थापन महाशाखा प्रमुख उमेश ढुंगाना तथा कानुन अधिकृत निर्मला गुरुङ पनि पक्राउ परेका छन् ।

अनुसन्धान अनुसार मलेसिया सरकार र नेपाल सरकारबीच भएको समझदारीविपरीत श्रमिकबाट उठाइएको ८३ लाख ७० हजार अमेरिकी डलर र ३७ लाख १७ हजार बेलायती पाउन्ड गरी नेपाली मुद्रामा करिब १ अर्ब ६६ करोड रुपैयाँ विदेश पठाइएको उनीहरूमाथि आरोप छ ।