समग्र सम्झौताबिना नै सकियो कोप–३१ः ४८ घण्टाभन्दा बढी अतिरिक्त छलफल गर्दा पनि सदस्य राष्ट्रबिच सहमति जुटेन


संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी ३१ औँ सम्मेलन (कोप–३१) समग्र सम्झौताबिना नै सम्पन्न भएको छ । करिव ४८ घण्टाभन्दा बढी समय अतिरिक्त छलफल गर्दा पनि सदस्य राष्ट्रहरूबीच साझा सहमति जुट्न नसकेपछि सम्मेलन आइतबार टुङ्गिएको हो ।

सम्मेलनको समापन सत्रमा अध्यक्ष मुरात कुरुमले प्रश्तावित दस्तावेजमा केही राष्ट्रले असहमति जनाएकाले त्यसलाई पारित गर्न नसकिएको बताए । उनले सबै पक्षले आफूले चाहेका सबै कुरा प्राप्त नगरे पनि प्रश्तावित दस्तावेजमा सबैले आफ्ना विषय समेटिएको पाउन सक्ने धारणा राखे ।

टर्कीका वातावरण, सहरीकरण तथा जलवायुसम्बन्धी मन्त्रीसमेत रहेका कुरुमले सम्मेलनको अध्यक्ष राष्ट्रका रूपमा टर्कीको जिम्मेवारी सम्मेलनपछि पनि जारी रहने बताए ।

स्वच्छ ऊर्जा, शुन्य फोहोर र जलवायु वित्तीय सहयोगसम्बन्धी सम्मेलनको कार्ययोजनालाई निरन्तरता दिने उनको भनाइ थियो । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिलले समग्र सम्झौता हुन नसकेकोमा गहिरो निराशा व्यक्त गरे ।

यद्यपि, न्यायोचित ऊर्जा तथा जलवायु रूपान्तरणलगायतका विषयमा महत्त्वपूर्ण वार्तागत निर्णय भएको उनले बताए । स्टिलकाअनुसार विभिन्न देशका प्रतिवद्धता र राष्ट्रप्रमुखहरूको सम्मेलनमार्फत विश्व अर्थतन्त्रको करिब आधा हिस्सा विद्युतीकरणलाई तिब्रता दिन अघि बढेको देखिएको छ ।

सम्मेलनको कार्ययोजनाअन्तर्गत केही ठोस प्रगति भए पनि जलवायु संकट सम्बोधनका लागि अझ धेरै काम गर्न आवश्यक रहेको उनले उल्लेख गरे। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि सम्मेलनको नतिजाप्रति निराशा व्यक्त गरेका छन् ।

जलवायु संकटले सरकारहरूबीच सहमति पर्खेर नबस्ने भन्दै उहाँले यसको सामना गर्न विश्वले तत्काल थप प्रभावकारी कदम चाल्नुपर्ने बताए।

शुक्रबार सम्पन्न हुने पूर्वनिर्धारित कार्यक्रम रहेको सम्मेलन अतिरिक्त वार्ताका कारण लम्बिएको थियो । टर्कीको पर्यटकीय शहर अन्ताल्यामा नोभेम्बर ९ देखि शुरु भएको सम्मेलनको मुख्य उद्देश्य विश्वव्यापी जलवायु प्रतिवद्धतालाई व्यवहारिक कार्यान्वयनमा रूपान्तरण गर्नु रहेको थियो ।