काठमाडाैँ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका कर्मचारीहरु आन्दोलित भएका छन् । शुक्रबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ऐन तथा नियमावलीका सम्बन्धमा सरोकारवालाहरूसँग कुनै छलफल नै नगरी अध्यादेश ल्याइएको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।
विज्ञान प्रविधि तथा नवप्रवर्तन महावीर पुनले नैतिक जिम्मेवारी लिइ तत्काल राजीनामा दिन माग गर्दै विरोध प्रदर्शन गरेका छन् । प्रतिष्ठानको प्राङ्गणमा प्रदर्शन गर्दै उनीहरूले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ऐन तथा नियमावली सरोकारवालाहरूसँग छलफल नगरी ल्याइएको र आफ्ना सुझावहरु बेवास्ता गरिएको उनीहरूको भनाइ छ ।
विरोध कार्यक्रममा बोल्दै प्राविधिक अधिकृत समुन्द्र कँडेलले नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा प्रतिष्ठान अध्यादेश, २०८३ र नियमावली वैज्ञानिक तथा कर्मचारीमैत्री नभएको बताए ।
सुधारका नाममा विद्यमान संस्था कमजोर पार्ने, विज्ञान क्षेत्रलाई रिक्ततामा धकेल्ने, दक्ष जनशक्ति पलायन गराउने कदम स्वीकार्य नहुने चेतावनी समेत दिएका छन् । अब बनाइने विज्ञान नीतिले देशको विज्ञान तथा अनुसन्धानको भविष्यको र्मा निर्धारण गर्ने भएको कँडेलले बताए ।
उनले नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा प्रतिष्ठान अध्यादेश, २०८३ तथा नियमावली वैज्ञानिकमैत्री नभएकाले तत्काल खारेज गर्न माग गरे ।
अध्यादेश र नियमावलीका नाममा भएको मनोमानी तथा नवनियुक्त समिति सदस्यलाई समेत जानकारीमा नराखी निर्णय गर्ने काम बन्द गर्न, संस्थामाथि मन्त्रालय र मन्त्रीको दबाब तथा हस्तक्षेप बन्द गर्न, सरोकारवालाको सहभागितामा विज्ञानमैत्री ऐन, नियमावली र नीति बनाउन, संस्थाको सक्षम नेतृत्व खुला विज्ञापन र प्रतिष्पर्धाबाट चयन गर्न, साविकको ऐनअन्तर्गत नियुक्त सबै कर्मचारीको सेवा सुरक्षा सुनिश्चित गर्न, कर्मचारीलाई थर्काउने, धम्क्याउने, मनोबल गिराउने काम बन्द गरी विश्वासमा लिन, देशभित्रका दक्ष जनशक्तिलाई विदेशिन बाध्य नपारी स्वदेशी प्रतिभालाई सम्मान र अवसर दिन, विद्यमान संरचना ध्वस्त पारी विज्ञान क्षेत्रलाई रिक्ततामा धकेल्नुको सट्टा सुदृढ गर्न, नयाँ संरचनामा अनावश्यक खर्च गर्नुको सट्टा नास्टका सबै प्रयोगशालालाई सबल बनाइ अनुसन्धान बजेट बढाउन, संस्थाको स्वायत्तता सुनिश्चित गर्दै वैज्ञानिकहरूले कुनै दबाबबिना अनुसन्धान गर्ने वातावरण सिर्जना गर्न उनीहरूको माग छ ।


प्रतिक्रिया दिनुहोस्