काठमाडौं। नेपाल बैंकर्स संघको अध्यक्षमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी निर्विरोध चयन भएका छन्। संघका उपाध्यक्ष रहेका रेग्मीले शुक्रबारदेखि अध्यक्षको जिम्मेवारी सम्हालेका हुन्।
संघका अध्यक्ष तथा माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइरालाको दुईवर्षे कार्यकाल पूरा भएपछि शुक्रबार सम्पन्न संघको साधारणसभाले रेग्मीलाई अध्यक्ष चयन गरेको हो।
त्यस्तै, संघको उपाध्यक्षमा कुमारी बैंकका सीईओ रामचन्द्र खनाल निर्विरोध निर्वाचित भएका छन्। कार्यकारी समितिका सदस्य रहेका खनाल उपाध्यक्षमा चयन भएका हुन्।
संघको कार्यकारी सदस्यमा सिद्धार्थ बैंकका सीईओ रामेश्वर बस्याल र सानिमा बैंकका सीईओ पवनकुमार आचार्य चयन भएका छन्।
संघको कार्यकारी समिति निवर्तमान अध्यक्षसहित १० सदस्यीय छ। कार्यकारी समितिका सदस्य रहेका लक्ष्मी सनराइज बैंकका सीईओ अजयविक्रम शाहले पद छाडेपछि एउटा सदस्य पद रिक्त थियो।
त्यस्तै, एभरेस्ट बैंकका सीईओ सुदेश खालिङले पनि कार्यकारी समितिमा दुई कार्यकाल पूरा गरेका छन्। नेपाल बैंकका सीईओ तिलकराज पाण्डे भने थप एक कार्यकाल सदस्यमा रहने भएका छन्।
उपाध्यक्षमा चयन भएका खनालको स्थानमा नयाँ कार्यसमितिले सदस्य नियुक्त गर्नेछ।
संघको साधारणसभामा पूर्वबैंकर उपेन्द्र पौडेललाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मान गर्ने कार्यक्रमसमेत रहेको छ।


प्रतिक्रिया दिनुहोस्