उद्योग क्षेत्रमा कोभिडको असर घट्दो, ८३ प्रतिशत उद्योगीे नयाँ लगानी गर्न तयार


काठमाडौं । कोभिडका कारण नेपालको उद्योग क्षेत्रमा पारेको नकारात्मक प्रभाव घट्दै गएको अध्ययनले देखाएको छ । नेपाल उद्योग परिसंघले सार्वजनिक गरेको औद्योगिक अवस्थिति प्रतिवेदनले अध्ययनले गत आर्थिक वर्षको चौथो त्रयमासमा उद्योगको क्षमता ४.८ प्रतिशतले उपयोग भएको देखाएको हो ।

गत वर्षको अन्तिम चौमासलाई आधार मानेर गरिएको पहिलो अध्ययन प्रतिवेदन शुक्रबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेलले सार्वजनिक गरेका हुन् । त्रयमासिक रुपमा अध्ययन प्रतिवेदन सार्वजनिक गर्ने परिसंघले जनाएको छ ।

अध्ययनमा सहभागीमध्ये ८३ प्रतिशत उद्योगीले नयाँ लगानीका लागि आफू तयार रहेको बताएका छन् । उद्योगमध्ये ६९.७ प्रतिशत उद्योगहरुले जेनेरेटरबाट ऊर्जा उत्पादन गरी उद्योग सञ्चालन गरिरहेका देखिएको छ । यसले गर्दा उद्योगको उत्पादन लागत ४.९ प्रतिशतले बढेको अध्ययनको निष्कर्ष छ ।

अध्ययन भएको अवधिमा कृषि क्षेत्रका उद्योगले औषतमा ८.३ प्रतिशत, ऊर्जा क्षेत्रका उद्योगले औषतमा ७.४ प्रतिशत, उत्पादनमूलक उद्योगले औषतमा ७.७ प्रतिशत र सेवा क्षेत्रका उद्योगले औषतमा ८.४ प्रतिशत ब्याज तिरेको पाइएको छ । उत्पादनमूलक उद्योगहरुले आफ्नो चालु पुँजीको ६६.१ प्रतिशत बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका छन् ।

आर्थिक वर्ष २०७६/०७७ को चौथो त्रैमासको तुलनामा गत आर्थिक वर्ष २०७७/०७८ को चौथो त्रैमासमा उद्योगको आय वृद्धिदर ८ प्रतिशत बढेको देखाएको छ । त्यसअघिको वर्षमा भने उद्योगको आय ४.७ प्रतिशतले ऋणात्मक थियो ।

प्रतिवेदनले व्यवसायको क्षमता उपयोगमा कोभिड १९ को महामारीको प्रत्यक्ष असर परेको र यो अवस्था सुधारोन्मुख रहेको देखाएको हो ।प्रतिवेदनमाथि टिप्पणी गर्दै आयोगका उपाध्यक्ष डा पौडेलले तथ्यांकमा आधारित शासन नै सुशासन भएकाले नीजि क्षेत्रबाट गरिएको अध्ययनले तथ्यांकमा आधारित नीति बनाइरहेको सरकारलाई पनि सहयोग पुग्ने बताए ।

परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले प्रतिवेदनले निजी क्षेत्रले थिंक ट्यांकको रुपमा कसरी काम गरिरहेको छ भन्ने चित्रण गरेको बताए । औद्योगिक क्षेत्रको विकास र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर परिसंघले काम गरिरहेको बताउदै उनले आगामी अंकमा थप क्षेत्रलाई समेट्दै अध्ययन थप परिस्कृत बनाउदै जाने बताए ।

परिसंघका निवर्तमान अध्यक्ष सतिशकुमार मोरले औद्योगीकरणका लागि सरकारसँग हातेमालो गर्न परिसंघ सधैँ तयार रहेको बताए । उनले अहिले अर्थतन्त्रमा संकट देखिएकाले सबै पक्ष मिलेर संकट समाधान गर्नेपर्नेमा जोड दिए ।

परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले प्रतिवेदनले उद्योगको अवस्थाबारे जानकारी दिने र यसलाई परिसंघले हरेक त्रैमासमा निरन्तर प्रकाशन गर्ने जानकारी दिए ।