यातायात कार्यालय सुकेधाराका उपसचिव विरुद्ध मुद्दा दायर, १.१५ करोड बिगो दाबी


काठमाडौं । यातायात कार्यालय सुकेधाराका उपसचिव विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टचार मुद्दा दायर गरेको छ ।

सुकेधारास्थित सवारी चालक अनुमतिपत्र कार्यालयका उपसचिव सुन्दर भट्टराईविरुद्ध १ करोड १५ लाख २९ हजार १९३ रूपैयाँ ७१ पैसा बढिको विगो दाबीसहित मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले बताए ।

भट्टराईले सेवा सरकारी सेवा प्रवेश गरेको २०३८ साउन १ देखि २०७५ मंसिर मशान्तसम्म गरेको आम्दानी र खर्चको हिसाब गर्दा उनको सम्पत्तिमध्ये १ करोड १५ लाख २९ हजार १९३ रुपैयाँको स्रोत नखुलेको अख्तियारको दाबी छ ।

उनको वैध आम्दानी १ करोड ९२ लाख एक हजार ९२२ रहेको तर उनको खर्च ३ करोड ७ लाख ३१ हजार ११६ रुपैयाँ ५ पैसा देखिएको प्रवक्ता दाहालले जानकारी दिएका छन् ।

भट्टराईले अवैध आर्जनको सम्पत्ति पत्नी मुना अधिकारी भट्टराई र छोरा उत्सुक भट्टराई, छोरी प्रेरिका भट्टराईको नाममा राखेको देखिएको भन्दै उक्त रकम जफत गर्न माग गरेको छ ।

त्यस्तै उनकी स्वर्गीय आमा इन्दिरा भट्टराईको नाममा राखिएको सम्पत्ति पनि जफत गर्न माग गरिएको अख्तियारका प्रवक्ता दाहालले बताएका छन् ।