फाइलमा होइन,योजनामा लगानी बढाइन्छ : अर्थमन्त्री शर्मा


काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले शिक्षा क्षेत्रको विकासका लागि फाइलमा नभएर योजनामा लगानी बढाउने बताएका  छन् ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले आज काठमाडौंमा गरेको कार्यक्रममा उनले पहुँचका भरमा फाइल देखाएर बजेट पार्ने परिपाटीको अन्त्य गरिने बताए ।

“फाइलमा लगानी गरेर अनुत्पादक भयो, त्यस्तो लगानी गरेर हुँदैन । पहुँचका भरमा एउटाले फाइल ल्याउँछ । यहाँ स्कूल छ भन्छ, अनि पैसा लान्छ । त्यसको अर्थ छैन,” उनले भने, “त्यसैले योजनामा, मिसनमा, परिणाममा, भविष्यमा, समयको सुरक्षाको लागि लगानी गर्नुपर्छ ।”

शिक्षाले उत्पादन तथा परिणाम दिनुपर्नेमा मन्त्री शर्माले जोड दिए । उनले कतिपय बिना परिणामका ‘फाइल’मा लगानी भइरहेकोप्रति चिन्ता समेत व्यक्त गरे । “हामीले धेरै बाटो त खन्यौँ । तर प्रतिफल कति दिइरहेका छन्, यो बुझ्नुपर्छ”, उनले भने,“सडक निर्माण जस्तै प्रतिफल दिने विद्यालयहरूमा लगानी गरौँ ।”

मन्त्री शर्माले जनसंख्या र आवश्यकताका आधारमा विद्यालयहरू स्थापना गर्नुपर्ने समेत बताए ।

कहाँ, कति जनसंख्याका लागि कस्तो विद्यालयको आवश्यकता हुन्छ विज्ञको रायअनुसार विद्यालय निर्माण गर्नुपर्ने उनको धारणा रहेको छ । उनले विद्यालय र विश्वविद्यालयहरूले राष्ट्रलाई परिणाम दिने खालको हुनुपर्ने बताए ।