‘चीनकाे हाइपरसोनिक क्षेप्यास्त्र परीक्षणको खबर अमेरिकाका लागि गम्भीर चेतावनी’


काठमाडौं । अमेरिकाले बेलायतसँग मिलेर अस्ट्रेलियासँग परमाणु पनडुब्बी दिने गरी गरेको ओकस सम्झौताको केही साता नबित्दै चीनले हाइपरसोनिक मिसाइल परीक्षण गरेको सार्वजनिक समाचारबाट अमेरिकाका लागि गम्भीर चेतावनी हुन पुगेको विश्लेषकहरूले बताउन थालेका छन् ।

हाइपरसोनिक क्षेप्यास्त्रको परीक्षणलाई अमेरिकाले कम आकलन गर्न नहुने बेलायती विश्लेषक टम फाउडीले बताएका हुन् । चीनलाई एक्ल्याउन ओकस सम्झौता गरिएको थियो । त्यसको केही साता भित्रै द फिनान्सिअल टाइम्सले अमेरिकी अधिकारीको स्रोतका आधारमा अगस्टमै चीनले परमाणु सक्षमतासहितको हाइपरसोनिक क्षेप्यास्त्रको परीक्षण गरिसकेको समाचार हालै छापेको हो ।

फिनान्सिअल टाइम्सको सो समाचारमा अमेरिकी गुप्तचरको भनाइका आधारमा चीनले अद्भुत प्रगति उल्लेख गरिएको छ । हाइपरसोनिक मिसाइल ब्लास्टिक मिसाइल भन्दा फरक खालको हो । हाइपरसोनिक मिसाइल ध्वनिको गतिले न्यून कक्षामा उड्न सक्ने क्षमताको हुन्छ । चीनले यो परीक्षणको घोषणा आफैले गरेको छैन नत यसबारे कुनै टिप्पणी गरेको छ । ओकस सम्झौताको बेला चीनको सैनिक क्षमता भन्दा बढी शक्तिशाली भएको टिप्पणी गरिएको थियो ।

मिनसिन पेइले ब्लुमबर्गमा ओकसलाई दर्शाउँदै चीनले अमेरिकालाई हतियार दौडमा जित्न नसक्ने बताएका थिए । विदेश मामिला विज्ञ मिचेल बेक्ले र हाल ब्रान्ड्सले ‘चीन उदयको अन्त्य’ भनी टिप्पणी गरेका थिए ।

हाइपरसोनिक मिसाइल प्रक्षेपणको समाचारबाट यस्ता तस्बिरमा रङ्ग पोतिन पुगेको देखिएको छ । अमेरिकी रक्षामन्त्रालय पेन्टागनका पूर्व अधिकारी निकोलास चाइलानले चीनले अमेरिकालाई कृत्रिम बौद्धिकता (एआई) प्रविधिमा जितिसकेको बताएका थिए ।

फिनान्सिअल टाइम्सको समाचार सही हो भने निसन्देह चीनसँगको सैनिक आयाम परिवर्तन भएको र अमेरिका र उसका सहयोगीले रणनीतिकरूपमा अवमूल्यन गर्न नसक्ने देखिएको फाउडीले जनाएका छन् ।

हाइपरसोनिक मिसाइलको सक्षमता चीनले प्राप्त गरेको हो भने विश्वको कुनै ठाउँमा परमाणु वारहेड लिएर केही घन्टा भित्र मार हान्न सक्ने छ । चीनले ताइवान र साउथ चाइना सी छेउछाउ अमेरिकी सैन्य शक्तिलाई सन्तुलनमा ल्याउन सक्ने छ । जुन क्षेत्र अहिले महत्वपूर्ण तनावको क्षेत्रको रूपमा देखिएको हो ।

अस्ट्रेलियालाई प्राप्त हुने परमाणु शक्ति सम्पन्न पनडुब्बी ओकस सम्झौता अनुसार सन् २०४० अगाडि प्राप्त हुने छैन् । ओकसलाई चीनलाई एक्ल्याउन र घेरा हाल्ने रणनीतिको क्षेत्रमा एक ‘गेम चेन्जर’ सम्झौताको रूपमा लिइएको थियो ।

तर हाइपरसोनिक परमाणु क्षमताको क्षेप्यास्त्र परीक्षणको समाचारले अमेरिकाको सो रणनीतिलाई सन्तुलनमा ल्याइदिएको छ । अमेरिकी अधिकारीबाट चुहाइएको चीनको हाइपरसोनिक मिसाइलको विषयबाट अमेरिका एसिया प्रशान्त क्षेत्रमा चीनको वर्चस्वसँग दीर्घकालीन संघर्ष गर्न प्रतिबद्ध भएको देखिन्छ । शक्तिको सन्तुलन चीन विरूद्ध परिवर्तन भएको हो भन्ने विषयमा सोचौ र फेरि सोचौं फाउडीले बताएका छन् ।