काठमाडौँ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत सरकारले अटोमोबाइल क्षेत्रमा तल्लाे रेन्जका विद्युतीय कार, जिप र भ्यानमा भन्सार बढाएको छ । सरकारले नेपालमा धेरै माग रहेको र प्रयोगमा रहेका इन्ट्री लेभलकै विद्युतीय गाडीमा भन्सार र अन्तःशुल्क कर मात्रै १५ प्रतिशतसम्म बढाएको छ ।
सरकारले अब देखि ५० किलोवाटसम्मको विद्युतीय गाडीमा १० प्रतिशत भन्सार शुल्क मात्रै लाग्ने व्यवस्था गरेको छ । त्यस्तै सरकारले अगामी वर्ष नयाँ सवारी साधन खरिद नगर्ने भएको छ भने सरकारले खर्च व्यवस्थापन गर्न इन्धन खर्च नगद रुपमै हस्तान्तरण गर्ने भएको छ । त्यस्तै बजेटले गर्दा केही कम्पनीका विद्युतीय सवारीमा भने भारि रूपमा मूल्य घटेकाे छ भने केही सवारीकाे मूल्यमा त्यति धेरै गिरवाट भएकाे पाइदैँन ।
कुन गाडीको मूल्य कति ?
सरकारले आगामी आर्थिक वर्षको बजेटमा ५१ देखि १०० किलोवाट क्षमतासम्मका इलेक्ट्रिक कारमा भन्सार र अन्तःशुल्क बढाएपछि सो सेग्मेन्टका कार आयात गरी कारोबार गर्दै आएका अधिकांश कम्पनीले मूल्य समायोजन गरिसकेका छन् ।
हालसम्म एमजी, टेस्ला, नेटा, बीवाईडी र हुन्डाई जस्ता अन्य विद्युतीय सवारीले आफ्नो मूल्य समायोजन गरेका छन् ।
मूल्य समायोजन गरेका कम्पनीले लगभग पुरानै मूल्यलाई निरन्तरता दिएका छन् ।
जबकी भन्सारमा ५ प्रतिशतले वृद्धि र अन्तःशुल्क १० प्रतिशत लाग्ने प्रावधान अनुरुप पुरानो मूल्यमा २० प्रतिशतसम्म मूल्य वृद्धि हुने अपेक्षा गरिएको थियो तर, यो सेग्मेन्टको बजार विस्तार हुँदै गएको र मूल्यमा प्रतिस्पर्धा गर्न नसकिए बजार गुम्ने भयले विक्रेता कम्पनीले आफ्नो मार्जिनको हिस्सा नै कम गरी पुरानो मूल्यमा थोरै रकम वृद्धि गरेर मूल्य समायोजन गरेको सहजै अनुमान गर्न सकिन्छ ।
बजेट आय लगतै एमजी मोटर्स नेपालको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्सकले एमजीको ९९ किलोवाट क्षमताको मोटर पावर भएको जेडएस इभी डिलक्सको मूल्य ५० हजार रुपैयाँ बढाएको छ । बजेट अघि एमजी जेडएस इभीको मूल्य ५२ लाख ४९ हजार रहेकोमा नयाँ मूल्य ५२ लाख ९९ हजार तोकिएको छ ।
त्यस्तै हुन्डाईको कोनामा बिक्रेता कम्पनी लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले जम्मा एउटा मात्रै भेरिएन्टमा ४० हजार रुपैयाँले मूल्य वृद्धि गरेको छ । कुल तीन भरिएन्टमा उपलब्ध कोनाको टप भेरिएन्ट जीएलएसमा ४० हजारले वृद्धि भई ६४ लाख ९६ हजार पुगेको छ भने बाँकी दुई भेरिएन्ट एनएस र जीएलमा पुरानै मूल्य यथावत गरिएको छ ।
यी दुई भेरिएन्टलाई कम्पनीले क्रमश ६० लाख ९६ हजार र ६१ लाख ९६ हजारमा बिक्री गर्दै आएको छ । हुन्डाई गाडीका बजार प्रबन्धक सन्दिप शर्माले सरकारकाे तीन वर्षमा तीन थरिकाे मूल्य बनाउँदा ग्राहकमा पनि विश्वासकाे कमि आउने बताए । शर्माले सरकारले एउटा स्थिर नीतिका बनाएर अघि बढ्दा नै अटाे क्षेत्र चलायमान हुने बताएका छन् ।
सिजी मोटसले नेटा भीको मूल्य एक लाख रुपैयाँ बढाएको छ । ७० किलोवाटको मोटर र ३८।५ किलोवाटको ब्याट्री प्याक भएको नेटा भीको नयाँ बजार मूल्य ३८ लाख ९९ हजार तोकिएको छ। यसभन्दा अघि यो गाडीको मूल्य ३७ लाख ९९ हजार तोकिएको थियो।
सोही आधारमा बीवाईडी बिक्रेता साइमेक्स इंकले बजेटअघि ६४ लाख ९० हजारमा बिक्री गर्दै आएको एट्टो ३ मा १ लाख रुपैयाँ वृद्धि गरेर ६५ लाख ९० हजार तय गरेकाे छ । साथै कम्पनीले ५० किलोवाट आवर क्षमताको ब्याट्री प्याकमा समेत सो एसयुभीलाई ल्याउने भन्दै नयाँ मूल्य सार्वजनिक गरेको छ । साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले सरकारले अनावश्यक रूपमा नीति चलाउँदा अटाे क्षेत्र साेचे जस्ताे चलायमान नहुने बताइन् । उनले सरकार एकातिर विद्युतको खपत बढाउने भन्दै लोकप्रिय नारा दिन्छ भने अर्कोतर्फ विद्युतको खपत बढाउने सवारीको आयातमा कर बढाउँदै आएकाे बताइन् ।
नेपालमा टेस्ला गाडीको मोडल ३ र मोडल वाई गरी दुई मोडलको गाडी उपलब्ध छन् । बजेट अघि ५४ किलोवाट आवरको ब्याट्री र १९८ किलोवाट मोटर पावर जडित मोडल ३ को मूल्य एक करोड ५५ लाख रहेकोमा बजेटपछि यो गाडीको मूल्य एक करोड ३५ लाख तोकिएको छ।
डेढ लाखले घट्याे रोयल इन्फिल्डको मूल्य
रोयल इन्फिल्डको क्लासिक ३५० मा एकैपटक १ लाख ४९ हजार रुपैयाँले कमी आएको छ । यसअघि ६ लाख ५० हजारमा बिक्री हुँदै आएको सो मोटरसाइकलको नयाँ मूल्य ४ लाख ९९ हजार कायम गरिएको छ । सरकारले प्रस्तुत गरेको बजेटमार्फत २५० देखि ४०० सीसी सम्मका मोटरसाइकलको कर घटाएको छ । यसले गर्दा अबदेखि लक्जरियस सेग्मेन्टको बाइक खरिद गर्ने ग्राहकले कम मूल्यमा बाइक किन्न सक्ने अवस्था सिर्जना भएको छ । मूल्य धेरै हुने कारण यस्ता बाइकहरूको बिक्रीमा कमी आइरहेको थियो ।
आर्थिक विधेयक अनुसार अब २५० सीसीदेखि ४०० सीसीसम्मका मोटरसाइलमा लाग्दै आएको सडक निर्माण दस्तुरमा ३० हजार छुट दिने व्यवस्था गरिएको छ । यो सँगै अब ५० हजार रुपैयाँ लाग्दै आएको कर २० हजार मात्र तिरे पुग्ने भएको छ ।
यस्तै २०० देखि २५० सीसीमा २० प्रतिशत अन्तस्शुल्क पनि घटाएको छ। यो सेग्मेन्टमा यसअघि ८० प्रतिशत अन्तःशुल्क लाग्दै आएको थियो। अब भने ६० प्रतिशत मात्र अन्तःशुल्क लाग्ने छ ।
अगामी आर्थिक वर्षको बजेटले केही दुईपांग्रे सवारी साधनको मूल्य घटाएको छ । जसमा केटिएम २५० एड्भेन्चर र केटिएम २५० ड्युकको मूल्य घटेको छ। कम्पनीले यी दुवै बाइकको मूल्य एकैपटक ५० हजार रूपैयाँले घटाएको हो।
यसअघि सात लाख ४९ हजार नौ सय रूपैयाँ पर्ने केटिएम २५० एड्भेन्चरको नयाँ मूल्य ६ लाख ९९ हजार नौ सय रूपैयाँ तोकिएको छ।
त्यस्तै केटिएम २५० ड्युकको नयाँ मूल्य सात लाख ३४ हजार नौ सय रूपैयाँ तोकिएको छ। यसअघि यो बाइकको मूल्य सात लाख ८४ हजार नौ सय रूपैयाँ थियो।
केटिएम २५० एड्भेन्चरमा सिंगल सिलिन्डर, लिक्विड कुल्ड, एफआई इन्जिन छ। जसले ३० पिएस पवार र २४ एनएम टर्क जेनेरेट गर्छ। यसमा ६ स्पीड गियर बक्स छ। बाइकको टप स्पीड १४८ किलोमिटर प्रतिघण्टा छ। इन्धन क्षमता भने यसमा १४।५ लिटरको छ। प्रतिलिटर बाइकले ३५ देखि ३८ किलोमिटर रेन्ज दिने बताइएको छ।
त्यसैगरि नेपालमा अन्तःशुल्क र सडक दस्तुक कम भएपछि साथै गत वर्ष भारतमा सार्वजनिक भएको रोयल इन्फिल्डको स्क्राम ४११ बजेट अघि ९ लाख हाराहारीमा नेपाल आउने अनुमान गरिएकोमा सो नयाँ बाइकको मूल्य समेत निकै प्रतिस्पर्धी कायम गरिएको छ । स्क्रामलाई आधिकारिक वितरक अल्फा अटोमोटिभले ६ लाख ६० हजारमा बिक्री थालेको छ । यी दुवै मोडलको नेपालमा एसेम्बल थालिएका कारण पनि मूल्य सस्तो पर्न गएको हो ।
याे सँगै नेपाली बजारमा उपलब्ध जावा, येज्दी, हस्कभर्ना, बीएमडब्ल्यु र होन्डा लगायतका माथिल्लो भर्सनका बाइक किन्न चाहने ग्राहकलाई पनि फाइदा पुग्ने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्