‘अध्यागमनले बिनाकारण श्रमिकलाई दुख दियो’


काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले अध्यागमन विभाग घेराउ गर्दै नाराबाजी गरेको छ । वैदेशिक रोजगारमा हिँडेका श्रमिकहरुलाई बिनाकारण फिर्ता गरेको भन्दै संघले विभाग घेराउ गर्दै नाराबाजी गरेको हो ।

म्यानपावर व्यवसायीहरुले अध्यागमनका कर्मचारीले बिनाकारण दुख दिएको भन्दै महानिर्देशकको राजीनामा मागेका छन् । महानिर्देशकको आदेशमा श्रमिकलाई फिर्ता गर्ने काम भएको भन्दै महानिर्देशकले राजिनामा दिनुपर्ने व्यवसायीहरुले बताएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले दोहोरो कागजात रहेको भन्दै असार २४ गते १५ जना र असार २७ गते ११७ जनालाई फर्काएको थियो ।

असार २४ गते जोर्डन जान लागेका १५ जना र असार २७ गते कुवेत जान लागेका ११७ जना कामदारलाई कानूनभन्दा बाहेक अनावश्यक दोषारोपण लगाएर अध्यागमन कार्यलयले फर्काएको संघले जनाएको छ ।

संघका अध्यक्ष राजेन्द्र भण्डारीले अहिले अनलाइन व्यवस्था भएकोले जो कोहीले पनि क्यूआर स्क्यान गरेर हेर्न सक्ने भएकोले दोहोरो कागजात भन्नु झुट रहेको बताए ।

संघले अध्यागमनले फिर्ता गरेका श्रमिकको क्षतिपूर्ति दिनुपर्ने र फिर्ता गर्ने कर्मचारीलाई छानबिन गरेर कार्बाहि गर्नुपर्ने माग गरेको छ ।

म्यानपावर व्यवसायीले अध्यागमनका महानिर्देशक राजिनामा दे, अध्यागमनको ज्याजती बन्द गर, भिजिट भिषा सेटिङ बन्द गर, अध्यागमनबाट श्रमिक फर्काउने कार्यबन्द गर, अध्यागमनमा हुने अनियमतिता छानबिन गर, वैदेशिक रोजगारमा जाने श्रमिकलाई दुख दिन बन्द गर लगायतका नाराबाजी गर्दै आन्दोलन गरेका थिए ।

Skip This