लगानीकर्ता भन्छन्, ‘अब ४/१२ को सीमामा बानी पर्नुहोस्’


काठमाडौं । नेपाल राष्ट बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासको समीक्षा आज गरेको छ । शुक्रबार राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको समीक्षामा सिडी रेसियो र सेयर धितोमा कर्जा सीमा (४/१२) को व्यवस्थामा कुनै परिर्वतन गरेको छैन ।

लगानीकर्ताले सेयर धितो कर्जाको विद्यमान व्यवस्था खारेज गर्न माग गरे पनि राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै उक्त व्यवस्थालाई यथावत राखेको हो ।

राष्टबैंक स्वायत्त संस्था भएको हुनाले हस्तक्षेप गर्न नमिल्ने भन्दै अर्थमन्त्रालय र अर्थमन्त्रीले ३ महिनामा पूनरावलोकन हुन्छ भने पनि राष्ट्र बैंक सेयर बजारप्रति कहिल्यै सकरात्मक नबनेको नेपाल पुँजीबजार संघकी अध्यक्ष राधा पोख्रेल बताउँछिन्।

“हामीले सेयर कर्जामा लगाएको सीमा खारेज गरिनुपर्छ भन्ने मागसहित विभिन्न निकायहरुलाई दवाब दिँदै आइरहेका थियौ,” उनले भनिन्, “अहिले उक्त माग सम्बोधन हुन सकेन, केही हदसम्म लगानीकर्ताहरु ४/१२ को सीमामा युज टु भईसकेका छन्।”

राष्ट्र बैंकले यो व्यवस्था परिर्वतन गदैैन भन्ने पनि धेरैलाई थाहा भएकाले अब यो सीमाले बजारलाई २/३ दिन प्रभाव पारे पनि बजार बुलिस ट्रेण्ड मै रहेको उनकाे भनाइ छ। 

अहिले मौद्रिक नीतिको समिक्षाले बजारमा खासै ठुलो असर नगर्ने र राष्ट्र बैंक आफैमा एउटा स्वायत्त संस्थाको यसले कसैको दवाबमा कुनै नीति नियम परिमार्जन गर्छ भन्नेमा विश्वास नलागेको  अरू लगानीकर्ताहरुकाे पनि भनाइ छ । 

मार्केट धेरै तल्लो लेभलमा आएको हुनाले अब लयमानै फर्किने र यो ४/१२ को क्यापले खासै असर नगर्ने नेपाल इन्भेन्र्टस फोरमका अध्यक्ष तुलसीराम ढकालले बताए ।

”राष्ट्र बैंकले सर्कुलर जारी गर्दा केही हेरफेर गर्ला भन्नेमा विश्वस्त छौं, बजारमा त्यति साह्रै आत्तिनुपर्ने कुनै कुरा छैनन्,” उनी भन्छन्, ”लगानीकर्ताहरु धरै परिपक्क भइरहेका छन्, लागनीकर्ताले धेरै संस्थाहरु बुझिसकेका छन् विश्वासका साथ लगानीकर्ता आउनुभएको छ, जसले गर्दा बजार अmझै माथि जानेछ ।

अब देशमा राजनीतिक गतिविधीहरु चलिरहेका छन् जुन कार्यक्रमहरुमा दुर दराजका पैसाहरु पनि खर्च हुने गर्दछ, जसले गर्दा बजारमा पैसाको फ्लो बढ्ने ढकालको भनाई छ ।

“समग्रमा बजार वास्तविक बुल आउनै बाँकी छ” ढकाल भन्छन्, ‘’अहिले सम्म त हाइड्राे र विकास बैंक मात्रै बढेको छ, बजारमा वास्तविक बुलको लागि वाणिज्य बैंक, इन्स्योरेन्स, लघुवित्तहरु बढ्नै बाँकी रहेकोले बजार अझै उचाईमा पुग्नेमा हाम्रो संस्था विश्वस्त छ ।”

नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०७८ र एकीकृत निर्देशिकाले सेयर धितो कर्जामा एउटा बैंकबाट ४ करोडसम्म मात्र सेयर धितो कर्जा लिन पाउने व्यवस्था गरेको छ । नीतिमा ४ करोड बढी लिन चाहनेले अरू दुईवटा बैंकबाट ४/४ करोड गरी १२ करोड सेयर कर्जा लिन पाउने व्यवस्था गरिएको छ ।

गत साउनमा मौद्रिक नीतिमार्फत सेयर कर्जा धितोमा ४/१२ को क्याप लगाएपछि सेयरबजार निरन्तर ओरालो लागेको छ । लगानीकर्ताहरुले उक्त व्यवस्था परिर्वतन गर्नुपर्ने माग राख्दै राष्ट्र बैंक घेराउ तथा धर्ना कार्यक्रमसमेत गरेर दवाव दिएका थिए ।