पूर्वबैंकरको कृषि उद्यम यात्रा


विदेशी बैंकको मोटो कमाइको अवसर छाडेर कृषि क्षेत्रमा लागेका सतीशचन्द्र श्रेष्ठ नेतृत्वको टिमले दुई दशकमा कमाएको नाम र दामको बलले श्रीनगर एग्रो सय करोडको पब्लिक कृषि कम्पनीका रूपमा सर्वसाधारणमाझ उदाउँदैछ । एमबीएपछि अन्य व्यवसाय छाडेर कृषि मूल्य श्रृंखलामा जीव न होमिएकोमा श्रेष्ठको आत्मबल र आत्मसन्तुिष्ट दुवै उच्च छ ।

अर्थतन्त्रको मुख्य क्षेत्रका रूपमा रहेको कृषिकै आयात ३ खर्व रूपैयाँभन्दा नाघेको छ । कृषिको कुल गार्हस्थ उत्पादन (जीडीपी)मा हिस्सा घट्यो भनिरहेको बेला भर्खरै सार्वजनिक राष्ट्रिय जनगणना २०७८ को नतिजाले ५७.३ प्रतिशत नेपाली कृषिमै आश्रित रहेको देखाएको छ । २०६८ सालको जनगणनाले ६५.६ प्रतिशत कृषिमा आश्रित देखाएको थियो । एक दशकको अवधिमा साढे ८ प्रतिशत नेपालीले कृषि छाडेका छन् ।

न्यून साक्षरदेखि शिक्षित जनशक्ति पनि बाहिरिने क्रम बढिरहँदा कृषिबाट पलायन हुने क्रम बढेको हो । यद्यपि कतिपय कृषि उद्यमीले कृषि क्षेत्रमा गरेको मेहनत र सफलता भने उदाहरणीय देखिन्छ । यस्तै उदाहरणीय सफल कृषि उद्योगी हुन् सतीशचन्द्र श्रेष्ठ र सफल कृषि ब्राण्डको रूपमा स्थापित छ उनले नेतृत्व गरेको श्रीनगर एग्रिटेक इन्डिस्ट्रिज लिमिटेड । श्रीनगर एग्रिटेक यतिबेला आइपीओमा जाने तयारी गरिहेको छ ।

पाल्पाका स्थायी बासिन्दा श्रेष्ठको अध्ययन र कर्मथलो काठमाडौँ बन्यो । एमबीए गरेका उनले अमेरिकन अन्तर्राष्ट्रिय बैंक (सिटी बैंक) मा इन्टर्न हुँदै पूर्णकालीन कर्मचारीको रूपमा काम गरे । सिटी बैंकको नेपालमा प्रतिनिधि कार्यालय मात्र थियो । अरू बैंकहरूलाई बैंकिङ सुविधा दिइरहेको बैंकले सन् २००२ मा यहाँ कार्यालय बन्द गरेपछि श्रेष्ठलाई निकै राम्रो तलबसहित भारत गएर बैंकमा काम गर्ने अफर आयो । जाऊँ कि नजाऊँ भन्ने दोधारमै रहेका बेला बुढानिलकण्ठ स्कुलमा सँगै पढेको साथीको अफरले मन लोभ्यायो ।

काठमाडौँ गोगंबुको जेम्स पोल्ट्री फार्ममा पार्टनर बने । पार्टनर विशेष कारणबस अमेरिकामै बस्नुपर्ने अवस्था सिर्जना भएपछि फार्मको जिम्मा श्रेष्ठले लिनु पर्ने अवस्था आयो । यसपछि दुई दशकयता उनको उद्यमशीलता फार्म र फिड (दाना) मा केन्द्रित भयो । अब श्रीनगर फुड (खाद्यान्न/मासुजन्य तथा अण्डा) मा पनि छुट्टै योजना लिएर अघि बढिरहेको छ ।

https://www.facebook.com/lumbinisanchar1/videos/269614552166011

दुई दशकको अथक यात्रा

जेम्स पोल्ट्रीमा साथीसँग सहकार्य गर्दा उद्यमशीलतामा होमिने कुनै योजना थिएन श्रेष्ठको । पोल्ट्रीमा थप अगाडि बढ्न नसकेको आशयले साथीले उनलाई कम्पनीको स्वामित्व हस्तान्तरणका लागि गरेको प्रस्ताव अपेक्षाकृत थिएन । “घरायासी कार्यले गर्दा पार्टनर अमेरिका नै फर्कनुपर्ने बाध्य भयो, उसले सम्पूर्ण कम्पनी कानुनी रूपमै स्वामित्व लिन उसले अफर गर्‍यो,” उद्यमशीलताको सुरुवाती दिन सम्झँदै सतीश भन्छन्, “तत्काल भुक्तानी गर्न नसक्ने भए विस्तारै रकम भुक्तानी गर्न गरेको उसको अफर मैले स्वीकार गरेँ । मैले पनि उसको कुरालाई सकारात्मक मानेर दुई वर्षभित्र सबै रकम भुक्तानी तिर्छु भनेर स्वामित्वमा लिएँ ।”

श्रेष्ठले कम्पनी आफ्नो हातमा लिइरहँदा नेपालमा ब्रोइलर कुखुराको राम्रो बजार विस्तार हुँदै गरेको थियो । दुई–चार हजार बोइलर कुखुरा र त्यो कुखुरालाई आवश्यक पर्ने दाना पिस्ने मेसिन अनि अलिकति माछाको पोखरी थिए फार्ममा । यिनै सम्पत्तिसँगै २०६० सालमा उनको उद्यमशीलताको यात्रा तय भएको थियो । “जेम्स पोल्ट्री गोगंवुबाट बसपार्क उत्तरतर्फ रहेको बालुवा पार्टीमा करिब १० देखि ११ रोपनी जग्गामा थियो । दुई तीन वर्षजति हामीले काठमाडौँमा नै सञ्चालन गयौँ,” उनले भने, “त्यो बेलामा पनि काठमाडौँ उपत्यकाभित्र लेयर्स कुखुरालाई आधुनिक प्रणालीअन्तर्गत केजको व्यवस्था मिलाएर राखेर नयाँ प्रयोग गरेका थियौँ ।”

दुई चार हजार बोइलरबाट तीस हजार लेयर्स पाल्ने क्षमताको संरचना बनायो कम्पनीले । त्यसपछि व्यवसाय विस्तारको लागि ठाउँ बढाउन सक्ने अवस्था रहेन । फार्म रहेको ठाउँ विस्तारै गाउँबाट सहर बन्न थाल्यो । काठमाडौँको मुख्य बसपार्कबाट नजिक हुने भएकाले त्यहाँ सहरीकरण व्यापक रूपमा बढेको थियो । स्थान पाउन गाह्रो हुने भएपछि काठमाडौँभित्र काम गर्न यो क्षमताभन्दा बढी रूपमा सकिँदैन भन्ने निश्कर्षमा पुगे श्रेष्ठ ।

“पाल्पा र रूपन्देहीसँग जोडिएको ठाउँमा हाम्रो पुख्र्याैली सम्पत्ति पनि थियो । बिजनेसलाई विस्तार गर्न रूपन्देही पुग्ने निर्णयमा पुगियो,” उनले भने । काठमाडौँमा कम्पनी लिएको पाँच वर्षमा पाल्पाको चर्चित स्थान श्रीनगरको नामबाट अन्य तीन जनासहित चार जनाले श्रीनगर एग्रोको सुरुवात गरे । जनयुद्ध चर्किरहेको समय भएकाले थपिएका पार्टनर पनि विभिन्न कारणले समय दिन नसक्ने अवस्थामा पुगेपछि पुनः श्रीनगर एग्रो श्रेष्ठकै काँधमा आयो तर व्यवसाय विस्तार भने निरन्तर र सफल रूपमै अगाडि बढी नै रह्यो ।

फार्मदेखि फिडसम्म सफलता

उपभोक्ताको विश्वास कमाउन सहज छैन तर चल्ला, अण्डा र दानामा श्रीनगरले छुट्टै पहिचान बनायो । श्रीनगरको उत्पादन जति गरे पनि बजारमा माग थप बढिरहँदा श्रेष्ठ र कम्पनीलाई निरन्तर उत्साह थपी नै रह्यो । श्रेष्ठ भन्छन्, “श्रीनगर कम्पनी बनाइरहँदा हाम्रो प्राथमिकता चल्ला उत्पादन नै थियो, काठमाडौँमा यो व्यवसाय सञ्चालन गर्दा कमर्सियल बोइलर र लेयर्स फार्मिङ गर्थ्याैँ भने रूपन्देही पुगेपछि चल्ला उत्पादनमा लागेका थियौँ ।”

माउ कुखुरालाई प्यारेन्ट भनिन्छ । एक दिने चल्ला उत्पादनमा श्रीनगरले प्राथमिकता दिन थाल्यो । इजरायली अनक भन्ने ब्रिडको नेपालमा सफल उत्पादन गरेर दुई हजार माउ कुखुराबाट उत्पादन सुरु गरेका थिए । नेपालमा गुणस्तरीय चल्ला उपलब्ध गराएर श्रीनगर थप चर्चाको शिखरमा उक्लन थाल्यो । चल्लाको बजारको लागि रूपन्देही, पाल्पा र अहिलेको लुम्बिनी प्रदेश तथा अन्य प्रदेशमा समेत बिक्री वितरण विस्तार हुँदै गयो । कोभिडअघिको समयमा ५ हजारदेखि ७ हजार चल्ला हप्तामा उत्पादन गर्न थालेकोमा त्यसपछि प्रतिहप्ता एक लाख ५० हजारसम्म विस्तार गर्न थाले ।

२०६९–७० नेपालमा बर्डफ्लुको महामारी फैलियो । खासगरी चितवन र काठमाडौँ उपत्यकाका फार्म मारमा परे । लाखौँ कुखुरा गाड्ने अवस्था थियो । बर्डफ्लुको असर कम गर्दै बजारमा उत्पादन पनि कमी हुन नदिन फार्मलाई फरक फरक स्थानमा चलाउने श्रीनगरले नयाँ जुक्ति निकाल्यो । एकीकृत फार्मभन्दा टाढा टाढा फार्मको संख्या बढाउने निर्णयअनुरूप तीनवटा ठाउँमा एक लाख माउ कुखुरा उत्पादन हुने व्यवस्था गरियो ।

“सुरुको दश वर्षको अवधिमा हामीले ह्याचरी चल्लाबाट धेरै कुराहरू सिक्ने मौका पाएका थियौँ, कुखुरा बढ्दै जाँदा दानाको कुरा आयो । बजारमा जसको कुखुरा उसकै दाना खुवाउन पाए बजारका किसानलाई एकीकृत गर्न सहज हुने थियो भन्ने भयो । त्यसले गर्दा कम्पनीको अपनत्व पनि बढ्यो, जसले गर्दा किसान र डिलरप्रति पनि विश्वासको वातावरण निर्माण भयो । त्यसपछि हामीले हाम्रा कुखुरालाई खुवाएको दानाबाट कमर्सियलतर्फ गयौँ,” श्रेष्ठ सझिन्छन् ।

सन् २००९ बाट श्रीनगर एग्रोले यूरोपेली मेसिनबाट दाना उत्पादन पनि सुरु गयो । त्यतिबेला रूपेन्देहीमा दाना उत्पादन गर्ने कम्पनीहरू थोरै थिए । उनले भने, “हामीले ५ मेट्रिक टन प्रतिघण्टा दाना उत्पादन गर्न सुरु गर्‍यौँ । हाम्रो फार्मबाट दाना उत्पादनको यात्रा त्यहाँबाट सुरु भयो ।”

दाना उत्पादन गर्ने कारखाना दैनिक २० घन्टा चल्न थाल्यो । बजारको माग बढ्दै गयो । भएको एउटा मेसिन विग्रियो भने के गर्ने भन्ने जोखिम कम गर्न अर्को प्लान्ट थप्ने निर्णय गरियो । “नजिकबाट ल्याउन सकियो भने मर्मत गर्न सहज हुन्छ भनेर मेसिन भारतबाट ल्याउने निधो गरियो,” उनले भने, “अब हामीसँग पौने २ लाख क्षमताको चल्ला उत्पादन भयो भने ५ टनबाट १० टन थपेर १५ टन प्रतिघन्टा दाना उत्पादन हुने भयो ।”

लुम्बिनी केन्द्रित ब्राण्ड, देशभर नै व्यापार विस्तारमा

सतीशचन्द नेतृत्वको श्रीनगर एग्रोले सन् २००२ देखि २०१९ सम्म उद्यम विस्तारको स्वर्ण समय विताएको छ । कपिलवस्तु र रूपन्देही लगायत लुम्बिनी प्रदेशमा केन्द्रित रहेर श्रीनगरले सफलता हात पार्दै गयो । कृषक र सप्लायर्सको मन जित्दै गयो । काठमाडौँबाट लुम्बिनी गएर उद्यम विस्तार गरेको श्रीनगर सफलताको कथा बुन्दै काठमाडौँ उपत्यका र पूर्वी नेपालमा क्षेत्र विस्तार गर्दै गएको छ ।

कुखुराको दाना मात्र हैन माछाको दानामा पनि श्रीनगरले सफलता हात लाग्यो । माछाको तैरिने दाना श्रीनगरले नै पहिलो पटक नेपाल भित्र्यायो । “हामीले के बुझ्यौँ भने लाइभस्टकमा सबैभन्दा व्यवस्थित क्षेत्र भनेको पोल्ट्री नै हो, जति लगानी अनुसन्धान पोल्ट्रीमा भएको छ, त्यो लगानी डेरी, माछादेखि अन्य कुनै क्षेत्रमा लगानी भएको पाइँदैन,” श्रेष्ठले अनुभव सुनाए, “आजभन्दा ४ देखि ५ वर्षअघि ४० देखि ५० हजार मेट्रिक टन माछाको दाना नेपालमा खपत हुनेगरेको थियो, त्योमध्ये आधाभन्दा बढी भारतबाट आउने गरेको छ । यसको अभावपूर्ति हामीले गर्ने योजना अगाडि बढायौँ ।”

कोभिडअघिको अवस्थामा नेपालमा हप्तामा एक लाखभन्दा बढी चल्ला उत्पादन गर्ने तीनदेखि पाँच ओटा ह्याचरी मात्र थियो । त्यसमध्येमा श्रीनगर पनि पर्छ । त्यसमा पनि नारायणीदेखि पश्चिममा सबैभन्दा ठुलो ह्याचरी श्रीनगर नै हो । नेपालमा १५ टन प्रतिघन्टाको क्षमता भएको दाना उद्योग क्षमताको हिसाबमा १० देखि १२ वटा ठुलामध्येमा श्रीनगरको पनि पर्छ । श्रीनगरको भगिनी कम्पनी श्रीनगर एग्रो फार्मले चल्ला उत्पादन र श्रीनगर एग्रिटेक इण्डष्ट्रिजले दाना उत्पादन गर्न थाल्यो । अहिले श्रीगरको आफ्नै छुट्टै पहिचान छ । उपभोक्ताको विश्वास कमाएको छ । वार्षिक एक अर्बभन्दा माथिकोे कारोबार गरिहेको छ ।

अबको बाटो ‘फिड’ मा

चल्ला उत्पादनसँगै माछाको दाना, कुखुराको दाना, गाईवस्तुको दानामा पनि श्रीनगरले सफलता हासिल गर्दै गयो । कोभिडअघि फराकिलो बनेको बजार कोभिडपछि भने केही असहजता थपियो । कोभिडले अब क्षेत्र विस्तार गर्दै फुड (खाद्य) मा पनि क्षेत्र विस्तार गर्न पाठ सिकाएको अनुभव श्रेष्ठको छ । थोरै उतावचढावका बिच श्रीनगर एग्रोसँग हाल ५ हजार बढी किसान प्रत्यक्ष/अप्रत्यक्ष जोडिएर काम गरिरहेका छन् ।

कृषकलाई आवश्यक पर्ने प्राविधिक सेवा पनि श्रीनगरले उपलब्ध गराइरहेको छ । “कोभिडको बेलामा किसानबाट तयारी कुखुरा र अन्डा नउठ्ने भएपछि चल्ला उनीहरूको फार्ममा त नजाने भयो, चल्ला नगएपछि दाना पनि जाँदैन,” श्रेष्ठले भन्छन्, “त्योबेला हामीले यो बुझ्यौँ कि हामीसँग प्रोसेसिङ केन्द्रहरू छैन । हामीलाई त्यो आवश्यक छ ।” यो सोचले श्रीनगरलाई फार्म र फिडसँगै फुड (खाद्य) मा पनि केन्द्रित हुन उत्प्रेरित गर्‍यो ।

कोभिडअघिको अवस्थामा नेपालमा हप्तामा एक लाखभन्दा बढी चल्ला उत्पादन गर्ने तीनदेखि पाँच ओटा ह्याचरी मात्र थियो । त्यसमध्येमा श्रीनगर पनि पर्छ । त्यसमा पनि नारायणीदेखि पश्चिममा सबैभन्दा ठुलो ह्याचरी श्रीनगर नै हो ।

पर्याप्त मात्रामा प्रशोधन उद्योग नहुने वा उत्पादन हुने ठाउँमा प्रशोधन उद्योगको अभावले उत्पादित उपज खेर जाने अवस्था कोभिडको समयमा देखियो । श्रीनगरले यसलाई अवसरको रूपमा देख्यो । “कोभिडको समयमा भारतमा तयारी कुखुरालाई कोल्ड स्टोरमा राखियो, अन्डालाई प्रोसेसिङ गरेर उनीहरूको व्यापारमा मन्दी लागेन,” श्रेष्ठ भन्छन्, “यो कुराबाट हामीले फार्मसँगै फुडमा जोडिनु पर्ने पाठ सिक्यौँ” उनी भन्छन् ।

फुड क्षेत्रको क्षमता वृद्धि गर्नको लागि रूपन्देहीमै ठुलो क्षमताको स्लटर हाउस स्थापनाको तयारीमा श्रीनगर छ । दिनको ४ हजार देखि ५ हजार कुखुरा तयार गर्न मिल्ने स्लटर हाउस खोल्ने र त्यसलाई अन्तर्राष्ट्रिय गुणस्तरबाट प्रमाणित गर्ने व्यवस्था गर्ने गरी श्रीनगरको टिम लागिरहेको छ । सँगै २०० मेट्रिक टन क्षमताको कोल्ड स्टोर स्थापना गर्ने योजना छ । चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो त्रौमिसकभित्रमा पूर्वाधार तयार गर्ने योजना कम्पनीको छ ।

लगानी विस्तारका लागि आइपीओको बाटोमा

श्रीनगर एग्रोले निरन्तर सफलता हात पारिरहँदा बजारको मागअनुसार थप उत्पादन आपूर्ति गर्न सकिने भएकाले आफ्नो क्षमता विस्तारमा लागेको छ । लगानीकर्ताले गर्ने निश्चित लगानी र बैंकले उपलब्ध गराउने ऋण दुई ओटा मात्र लगानीको स्रोत हुने भएकाले प्रा.लि. लाई लिमिटेडमा रूपान्तरण गरेर आइपीओमा जानेगरी नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड र श्रीनगर एग्रिटेक इन्डस्ट्रिज बिच आइपीओ निष्कासनमा सहयोग गर्ने सम्झौता भइसकेको छ ।

सेयर बजारमा कारोबार गर्न सूचीकृत २५० कम्पनी छन् । श्रीनगर फिड्स पनि धितोपत्र बजारमा गएर थप लगानी विस्तार गर्दै सबैको साझा कम्पनीको रूपमा थप फैलँदै जाने योजनामा छ । एक अर्ब चुक्ता पुँजीको कम्पनी बनाएर अगाडि बढ्न लागेको श्रीनगर सेयर बजारमा प्रवेश गर्ने तयारी गरिरहेको थोरै कम्पनीमध्येमा पर्दछ । कृषि उत्पादनमूलक क्षेत्रमा प्राइभेट कम्पनीको हैसियतमा कमाएको उपभोक्ताको विश्वासलाई थप बलियो बनाउने आत्मविश्वास श्रेष्ठको छ ।

(टक्सार म्यागजिन २०८०, भदाै अंकबाट)

(टक्सार म्यागजिन २०८०, भदाै अंकबाट)