३७ अंकले घट्यो नेप्से परिसूचक, खुम्चिदै कारोबार रकम पनि


काठमाडौं । साताको कारोबारको पहिलो दिन दोहोरो अंकले बढेको सेयर बजार आज दोस्रो दिन भने दोहोरो अंकले नै घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार सेयर मापक सूचक नेप्से परिसूचक ३७.१८ अंकले घटेर आजको कारोबार बन्द भएको छ ।

नेपाल राष्टबैंक मौद्रिक नीतिमार्फत सेयर धितोमा कर्जा सुविधामा ४/ १२ को सीमा लगाएपछि सेयर बजार निरन्तररुपमा घट्दै आएको छ । राष्ट्रबैंकले मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षामा केही हेरफेर नगरेपछि ठुलो अपेक्षा गरेका लगानीकर्ता निराश बनेका हुन् । जसकारण सेयर बजार निरन्तर घट्दै गएको र कारोबार रकम पनि २/३ अर्बमा खुम्चिदै गएको लगानीकर्ताहरु बताउँछन् ।

सोमबार नेप्से परिसूचक ३७.१८ अंकले घटेर २५०८.९१ अंकमा झरेको छ भने राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटीभ परिसूचक पनि ६.८५ प्रतिशतले घटेर ४७४.१३ अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका १३ उपसमुहमध्ये ट्रेडिङ उपसमुह र म्यूचुअल फण्ड बाहेक सबै उपसमुह घटेको छ । आज सबैभन्दा धेरै ट्रेडिङ उपसमुह र म्यूचुअल फण्ड उपसमुह ०.८२ प्रतिशतले बढेको छ भने फाइनान्स समुह सबैभन्दा धेरै ३.८५ प्रतिशतले घटेको छ ।

नेप्सेमा आज कारोबार रकमका आधारमा प्राइम कर्मसियल बैंक अग्रस्थानमा रहेको छ । बैंकको १२ करोड ३६ लाख ४७ हजार आठ रुपैयाँको कारोबार भएको छ ।

आज नेप्सेमा सिटिजन्स म्यूजुअल फण्ड दुई का लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । फण्डको सेयर मूल्य ४.६५ प्रतिशतले बढेको छ भने आइसीएफसी फाइनान्स लिमिटेड लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ७.६५ प्रतिशतले बढेको छ ।

कुल २३१ कम्पनीको ८३ लाख ३० हजार ९३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब १२ करोड ८३ लाख ४१ हजार७ सय रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।