३५० वर्षदेखिको पारिवारिक विरासत


नेपालमा पर्यटकलाई आर्कषित गर्ने एउटा बलियो माध्यम काष्ठकला पनि हो । विदेशमा निर्यात गर्ने एउटा साधन पनि यही नै हो । अर्थात् बजारको हिसाबले हेर्दा ७० प्रतिशत अन्तर्राष्ट्रिय व्यापार र ३० प्रतिशत नेपाली बजार छ ।

ललितपुरको पाटन औद्योगिक क्षेत्रभित्र आफ्नै काष्ठकला उद्योगमा गफिँदै गर्दा उनले आफ्नो नामभन्दा पहिला थर उल्लेख गरे,‘हामी स्थापित’ । त्यसपछि पूरा नाम भने किरणकुमार स्थापित । यसकै पृष्ठभूमिमा झण्डै ३ सय ५० वर्ष पहिलेको इतिहास सम्झना गरे । ललितपुरको पाटन दरबार बनाउन काठमाडौँको जनवहालबाट आफ्ना पुर्खालाई बोलाइएको उनको लिखित इतिहास थियो । कुराकानीका क्रममा त्यही कडीलाई उनी जोड्दै थिए,“हो, त्यही बेलादेखि हामी काष्ठकला क्षेत्रमा संलग्न भएका हौँ । पाँच पुस्ताभन्दा बढी भएको छ र यसैमा हामी लागेका छौँ ।” 

स्थापित अर्थात् थर सुन्दा नै सिपको परिचय खुल्थ्यो । उनी ललितपुरको पाटन दरबार बनाउँदाका ‘आर्किटेक्चर’का सन्तति । किरणले गर्वका साथ सुनाए,“त्यो बेला थर वर्गीकरण गर्दा हामीलाई स्थापित अर्थात् ‘आर्किटेक्चर’ भनियो । शिल्पकारले काठको काम गर्ने र आर्किटेक्चरले डिजाइनको काम गर्ने, यसरी हामी आर्किटेक्चरका सन्तान हौँ ।”

काष्ठकलाको गौरव 

काठ मानिसले आफ्नो वासस्थान बनाउन सुरू गरेदेखि नै प्रयोग गर्न थाल्यो । आवश्यकता, सौखिनता र सम्पन्नताअनुसार काठलाई आफ्नो कला, संस्कृति र सभ्यतासँग जोड्दै लग्यो । आत्याधुनिक साधन नहुँदा काठहरू हातको सिपबाट उधिनिएर मानव जीवन र सम्भयताको कथा भन्ने आधार बने । प्राचीन कालमा काठमाडौँ उपत्यकामा लिच्छिविकालदेखि सुरू भएको काठकलाको वैभव मल्लकालमा ‘स्वर्णीम’ बन्यो । समयक्रमसँगै काष्ठकलाको आरोहअवरोह चलिरहेको छ तर विश्वसम्पदामा जेजति सूचीकृत छन् ती सबै हातले खोपेर तयार पारिएका आकृतिको जग हो । अझ त्यसमा पनि काष्ठकलाको देन ठुलो छ ।

किरणले भने,“काष्ठकला हचुवा होइन । नबुझ्नेलाई यो ठोकठाक पारेको जस्तो लाग्छ तर यो आफैमा एउटा इन्जिनियरिङ हो । पहिलाका पुस्ताले हरेक कुरा सोचेर बनाएको छ ।” हचुवाको भरमा काठको काम नहुने उनको भनाइ छ ।

“काठको काम भनेको मूर्ति बनाउने मात्र होइन् । यो एउटा अर्किटेक हो । यसले पूरै घर बनाउने हो । काठले त सिङ्गै घर र मन्दिर बनाउने हो । त्यो बनाउदाँ एकदमै होसियारपूर्वक नै बनाएको हुन्छ,” किरणले थपे ।

काठको आफ्नै ‘लकिङ प्रणाली’ हुन्छ । अहिले बजारमा किला ठोक्ने, काट्ने सामग्री आउन थाले । यसले किरण चिन्तित छन् । उनले भने, “यसले गर्दा काठको वास्तविक आर्किटेक डिजाइन हरायो । यसका लागि सरकारले नीतिगत रूपमा प्रविधिको विकास गरेर पुरानै शैलीमा फर्काउने प्रयास गर्नुपर्छ ।” यसका लागि वास्तविक काष्ठकलाको पहिचान हुने गरी प्राविधिक परीक्षण जरूरी भएको उनको भनाइ थियो । 

‘भुल गर्दैछौँ’

काष्ठकलासँगका कति कलात्मक सिप हराए केही लेखाजोखा छैन । काष्ठकलाको सिप राम्रोसँग हस्तान्तरण नै हुन पाएन । किरणले भने,“हामीले धेरै कुरा गुमाइसकेका छौँ । जबसम्म पुस्तान्तरण हुँदैन र हाम्रो सरकारले जबसम्म हामीलाई सहयोग गर्दैन, यो कुरामा हामी मात्र बोलेर हुँदैन । यही गतिमा जाने हो भने अबको २० वर्षमा नेपालको काष्ठकला क्षेत्रमा काम गर्ने मान्छे नै हुँदैन ।” उनले पारिवारिक विरासतमा रहेको ३५० वर्षको सम्बन्ध आफ्नो छोराछोरीमा जोड्न सुरू गरिसकेका छन् । स्थापितले भने,“मेरो छोराको पुस्तालाई यसैमा लगाउनुपर्छ भनेर सोचेको छु । यस विषयमा मैले उनीहरूलाई पनि तालिम दिएको छु।” 

आफैले १५ वर्ष पुग्दा नै अन्तराष्ट्रिय काष्ठकलाको बजार सम्हालेको अनुभवसमेत सुनाए । उनले भने,“१५वर्षको उमेरमा मैले मेरो बुवालाई सहयोग गर्दै अन्तर्राष्ट्रिय बजारमा भिज्न थालेको थिएँ । मेरो उद्देश्य छोराछोरीलाई विदेश नपठाउने र उनीहरूलाई रोजगार दिने हो भने अर्को हाम्रो पुस्ताले गर्दै आएको कामलाई बचाउने हो ।” 

नेपाली हस्तकलाको सिप पढ्न पर्‍यो भने अहिले जर्मन लेखकको किताब किन्नुपर्छ । यसमा उनी आफै अचम्म पर्छन् । “काष्ठकलाको सिपबारे कुनै पनि किताब पढ्यो भने जर्मन नागरिकले लेखेको किताब छ । उनीहरूले किन लेखे भन्दा यसमा हामी कति धनी रहेछौँ”, स्थापितले भने,“उनीहरू नै आएर खोज गरे जुन हामीले अहिले आएर थाहा पायौँ । आजको दिनमा यस विषयमा हामीले केही कुरा थाहा पाउन पर्‍यो भने जर्मनको किताब हेर्नुपर्छ जुन हाम्रो लागि दुर्भाग्यको कुरा हो ।”

काष्ठकलाका लागि अब पारिवारिक र अनौपचारिक सिपले मात्रै धान्दैन र पर्याप्त रोजगारी सिर्जना हुँदैन भन्ने किरणलाई लागेको छ । उनले भने,“अब पारिवारमा मात्रै यो सीमित गर्न हुँदैन । कुनै इन्स्टिच्युटहरू स्थापना गरेर अगाडि बढ्नुपर्छ । हामीले सरकारसँग जोडबल गरिहेका छौँ ।”

प्राचीन कालमा काठमाडौँ उपत्यकामा लिच्छिविकालदेखि सुरु भएको काठकलाको वैभव मल्लकालमा ‘स्वर्णीम’ बन्यो । समयक्रमसँगै काष्ठकलाको आरोहअवरोह चलिरहेको छ तर विश्वसम्पदामा जेजति सूचीकृत छन् ती सबै हातले खोपेर तयार पारिएका आकृतिको जग हो ।

नेपालमा उत्साह

नेपालमा पर्यटकलाई आर्कषित गर्ने एउटा बलियो माध्यम काष्ठकला पनि हो । विदेशमा निर्यात गर्ने एउटा साधन पनि यही नै हो । अर्थात् बजारको हिसाबले हेर्दा ७० प्रतिशत अन्तर्राष्ट्रिय व्यापार र ३० प्रतिशत नेपाली बजार छ । नेपालको ब्रान्डको रूपमा अन्तर्राष्ट्रिय बजारमा समेत काष्ठकला छ । नेपालमै काष्ठकलाप्रतिको बढ्दो मोह निकै उत्साहजनक छ र बजार हिस्सा बढ्दो छ । अब नेपालभित्र पनि सामान्य उपहार वा मन्दिरमा मात्रै यो सीमित छैन । 

बालुवाटारमा बनेको प्रधानमन्त्रीको सरकारी निवास होस् वा सिंहदरबारभित्र बनिरहेको संसद भवन काष्ठकलाको भरपुर प्रयोग भएको छ, जसको नेतृत्व गर्ने अवसर उनले नै पाएका छन् । 

पूर्ण उड कार्भिङ इन्डष्ट्रिजका निर्देशक रहेका स्थापितले भने, “प्रधानमन्त्री निवास बालुवाटारमा दुईओटा भवन बनाएको छ, त्यहाँ हामीले नै डिजाइन गर्‍यौँ । संसद भवनमा पनि हामीले काम गर्दै छौँ ।” 

किरण अहिले नेपाल हस्तकला महासंघको उपाध्यक्ष छन् । उपाध्यक्ष भएर महासंघको नेतृत्व गरिहँदा उनलाई श्रीमती निरजा स्थापितले उद्योग सम्हाल्छिन् । किरणको चिन्ता अब हस्तकलाको क्षेत्र विस्तारमा छ । भक्तपुर नगरपालिकाले काष्ठकलालाई निकै प्रवद्र्धन गरिरहेको छ र काठमाडौँ र ललितपुरलगायत स्थानीय तहले काष्ठकलालाई महङ्खव दिए । बजार अझै बढ्न सक्ने उनको आँकलन छ । 

अमेरिका, जापान, सिगापुरमा मन्दिर बनाएका, तिब्बतको ल्हासामा मन्दिरहरू बनाइरहेका किरणले घरेलु बजारको उत्साहबारे आफ्नो अनुभव सुनाए, “नेपालमा हाम्रो बजार नराम्रो छैन । मान्छेले व्यापार छैन भने पनि यसको थोरै भए पनि माग बढेको छ । नेपाल सरकारले पनि आफ्नो भवन बनाउँदा काठको झ्याल, काठको ढोका राख्ने गरेको छ, जुन हाम्रो लागि सकारात्मक कुरा नै हो ।”

यति मात्रै होइन अहिले काठको काम गर्ने कोही खाली छैन । उनले भने,“ एउटा घर बनाउँदा कम्तिमा ढोका भए पनि कलात्मक हालौँ भन्छ । झ्याल राखाँैँ भन्छ, आन्तरिक बजार बढ्दो छ र सबैले काम पाइरहेका छन् ।” 

किरणको उद्योगमा २५ जनाले काम गरिहेका छन् । घरमा बस्ने गृहिणीले घरमै लगेर काठको बुट्टा खोपिरहेका छन् । कलेजका विद्यार्र्थीहरूलाई सिप सिकाइरहेका छन् । उनले सुनाए, “राम्रो काम गर्ने मान्छेले महिनाको ५० हजार कमाउने गर्छ । भर्खर सिकेको मान्छेले पनि ३०/३५ हजार ?पैयाँ कमाउन सकिन्छ ।”

भिडियाे हेर्नः