गभर्नर अधिकारीको हस्ताक्षरमा पाँच सयकाे नोट बजारमा


काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको हस्तक्षरयुक्त पाँच सय रुपैयाँको नयाँ नोट बजारमा ल्याइएको छ । अधिकारी गभर्नर भएपछि उनको हस्ताक्षरमा चलनचल्तीमा आएको पाँच सयकाे यो पहिलो नोट हो ।

राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै पुस ९ गते शुक्रबार देखि ५०० रुपैयाँको नयाँ नोट बजारमा ल्याएको जनाएको छ । बैंकले साविककै आकार तथा रङमा संकेत नं. छ/६८ ०००००१ देखि झ/४२ ९९९९९९ सम्म नयाँ नोट प्रचलनमा ल्याएको हो ।

राष्ट बैंकका अनुसार नोटमा,  बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छापसहित  गभर्नर महाप्रसाद अधिकारीको दस्तखत छ भने. नोटको तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर नेपालीमा ‘वि.सं. २०७७’ लेखिएको छ ।

यस्तै नोटमा ३.५ मि.मी. चौडा भएको रङ परिवर्तन हुने (नोटलाई सीधा हेर्दा रातो रङ र ढल्काएर हेर्दा हरियो रङ देखिने) सुरक्षण धागो, सगरमाथा हिमालको दायाँतर्फ अन्डाकारभित्र रङ परिवर्तन हुने (नोटलाई सीधा हेर्दा सुनौलो रङ र ढल्काएर हेर्दा हरियो रङ देखिने) कुबेरको चित्र रहेको बैंकले जनाएको छ ।

राष्ट्र बैंकले लालीगुराँसको पानी छापको बायाँतर्फ फरक क्षमता भएका (दृष्टिविहीन)हरु लेस्पर्श गरेर नोटको दर पहिचान गर्नका लागि दुईवटा कालो थोप्लाहरु रहेको प्रष्ट पारेको छ ।
बैंकले नोटको पछाडि पाटेबाघको चित्र छ भने  भागको बोर्डरमा नोटको सिरिज नम्बरमा २०२० एडी लेखिएको जनाएको छ ।