नेप्से ४९ अंकले बढ्दा कारोबार रकम साढे ६ अर्ब माथि


काठमाडौं । साताको तेस्रो दिन पनि सेयरबजार उकालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्से परिसूचक ४९ अंकले उकालो लागेको छ भने कारोबार रकम पनि साढे ६ अर्ब माथि पुगेको छ ।

विगत ३ महिना देखि गिरावट आएको सेयर बजार गत सातादेखि पुनः लयमा फर्किन लागेको देखिएको छ । ३२ सयको उच्च अंकमा पुगेको बजार २२ सयको हाराहारीमा झरेको थियो ।

अहिले कोरोना संक्रमणको तेस्रो लहर फैलिदै गरेको र लकडाउन हुने सम्भावनाले पनि सेयर बजार सकरात्मक बन्न थालेको लगानीकर्ता बताउँछन् । यदि लकडाउन भयो भने आर्थिक आयआर्जनको एकमात्र स्रोत भनेको सेयर बजार नै हो त्यसैले अबको बजार बुलिन नै देखिन्छ एक लगानीकर्ताले भने ।

मंगलबार नेप्से परिसूचक ४९.१९ अंकले बढेर २८३४.१३ अंकमा पुगेको छ भने राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक पनि ६.३४ अंकले बढेर ५२८.८७ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका १३ उपसमुहमध्ये उत्पादन उपसमुह बाहेक सबै उपसमह बढेका छन् ।

मंगलबार नेप्सेमा कारोबार रकमको आधारमा अपि पावर कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । कम्पनीको १६ करोड ८३ लाख २२ हजार ६ सय ९५ रुपैयाँको कारोबार भएको छ ।

आज नारायणी विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आज माउन्टेन इनर्जी नेपाल लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयर मूल्य ३.५२ प्रतिशतले घटेर कारोबार भएको छ ।

कुल २३२ कम्पनीको १ करोड १९ लाख ७० हजार २ सय १५ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ७२ करोड ४५ लाख ६१ हजार ९७ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।