काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रको बजेट बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
शनिवार प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट विजेताहरुलाई पुरस्कार प्रदान गर्दै अर्थमन्त्री महतले अरु क्षेत्रको बजेट कम गरेर भएपनि आगामी आर्थिक वर्षमा खेल क्षेत्रमा उल्लेख्य बजेट थप्ने बताए ।
उनले सबैभन्दा धेरै बजेट क्रिकेटमा खर्च गरिने बताए । अर्थमन्त्री महतले भने,“ नेपाल सरकारले आउने दिनमा खेलमा थप बजेट विनियोजन गर्छ । समग्रमा क्रिकेटलाई अन्तर्राष्ट्रिय रुपमा नेपाललाई पहिचान गराउने महत्वपूर्ण विधा भएकाले त्यसमा पनि हामी खर्च बढाउँछौँ ।”
क्रिकेटलाई थप प्रोत्साहन गर्न सरकारले राष्ट्रिय गौरवको मान्यता दिएर क्रिकेट स्टेडियमहरु बनाइरहेको अर्थमन्त्री महतको भनाई थियो ।
उनले भने,“क्रिकेटलाई थप प्रोत्साहन गर्न हामी राष्ट्रिय गौरवको मान्यता दिएर क्रिकेट स्टेडियमहरु पनि निर्माण गर्ने निर्णय नेपाल सरकारले गरेको छ । क्रिकेट खेलमा सहभागी खेलाडीहरुलाई पनि हामी अन्तर्राष्ट्रिय स्तरमा सहभागी खेलाडीहरु विभिन्न टुर्नामेण्टमा सफल खेलाडी र टिमलाई पनि हामी पुरस्कृत गर्दै आएका छौँ ।”
सरकार मन्दीबाट बिस्तारै उत्रिन खोजिरहेको भन्दै अर्थमन्त्री महतले श्रोत र साधनको सिमितताकाबिच आउँदो आर्थिक वर्षको बजेटमा उल्लेख्य बजेट थप्ने बताए ।
प्रतिक्रिया दिनुहोस्