६ महिनामा भित्रियो ७ खर्ब रुपैयाँ रेमिट्यान्स


काठमाडाैं । चालू आर्थिक वर्षको ६ महिनामा ७ खर्ब ३३ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८० ८१ को ६ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै विप्रेषण आप्रवाह २५.३ प्रतिशतले वृद्धि भएको उल्लेख गरेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४.३ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह २२.६ प्रतिशतले वृद्धि भई ५ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ७ हजार ९७० र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ३५ हजार ४३५ रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ७५ हजार ६४३ र १४२,५४८ रहेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर २४ प्रतिशतले वृद्धि भई रु.७ खर्ब ९९ अर्ब ५१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २२.७ प्रतिशतले बढेको थियो ।