सेयरबजारमा ५८ अंकको गिरावट, नेप्से परिसूचक २७ सय मुनि


काठमाडौं । साताको कारोबारको अन्तिम दिन सेयरबजारमा भारी गिरावट आउँदा नेप्से परिसूचक २७ सय अंक मुनि झरेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार सेयर मापक सूचक नेप्से परिसूचक ५८.९९ अंकले घटेर २६६१.४४ अंकमा पुगेको छ । त्यस्तै राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक पनि १०.३६ अंकले घटेर ५०७.५८ अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका १३ उपसमुहमध्ये सबै उपसमुहको सेयर घटेको छ ।

बिहीबार नेप्सेमा कारोबार रकमका आधारमा नेशनल हाइड्रो पावर कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २६ करोड ९७ लाख १६ हजार ४ सय १७ रुपैयाँको कारोबार भएको हो ।

आजको दिन नेप्सेमा हिमालयन जनरल इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। कम्पनीको सेयरमूल्य ९.९१ प्रतिशतले बढेर सकरात्मक सर्किट लेबलमा कारोबार भएको छ ।

त्यस्तै आज यूनिभर्सल पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन्। कम्पनीको सेयर मूल्य ५.७० प्रतिशतले घटेको छ ।

कुल २२९ कम्पनीको ८४ लाख ९० हजार ६ सय ८९ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २९ करोड ३८ लाख ६४ हजार १ सय ९१ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।