सरकारले क्रसर उद्योग नविकरण गरी व्यवसायीहरुका माग तत्काल सम्बोधन गर्नुपर्छः सांसद चौधरी


काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमन्त्री चौधरीले क्रसर उद्योग नविकरण गरी व्यवसायीहरुको माग तत्काल सम्बोधन गर्न माग गरेका छन् ।

बुधवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा सांसद चौधरीले नेपाल क्रसर तथा खानी उद्योग महासंघले कानूनी रुपमा दर्ता भएका २०७७ को मापदण्डको कारण नविकरण नभएका उद्योगीहरु नविकरणको माग लिएर आन्दोलन गरिरहेको बताए।

उनले सरकारले आन्दोलनरत उद्योगीहरुको माग तत्काल सम्बोधन गरी उद्योग नविकरण गर्न माग गरे । क्रसर उद्योगीहरुको आन्दोलनमा नेकपा (एकिकृत समाजवादी) पार्टीकाे ऐक्यवद्धता रहेको उनकाे भनाइ छ ।

उनले सरकारले क्रसर उद्योगीहरुको माग सम्बोधन गरी सरकारले लिनु पर्ने कर,दस्तुर र शुल्क लिएर अनुमति दिने निकायले नविकरण गरी सञ्चालनको लागि २०८० माघ ११ गतेको मन्त्रीपरिषद्को निर्णय कार्यान्वयन गराउन माग गरे ।

गृह मन्त्रालयको रेकर्ड अनुसार वैध तथा अवैध गरी १ हजार २८१ वटा क्रसर उद्योगहरु सञ्चालनमा रहेको र  ७ सय क्रसर उद्योगहरु साना तथा घरेलु उद्योगमा दर्ता रहेको उनले बताए ।

क्रसर उद्योगमा ५० हजार श्रमिकहरुले रोजगारी पाएको भन्दै सरकारले उद्योग नविकरण नगर्दा ५० हजार श्रमिकको रोजगार गुम्ने खतरा बढेको उनकाे भनाइ छ।

उनले एउटा क्रसर उद्योगमा ७ करोड बराबरको लगानी गरी मुलुकभर क्रसर उद्योगमा ८९ अर्ब ८१ करोड लगानी भएका उद्योगहरु अहिले बन्द अवस्थामा रहेको बताए ।

लगानीकर्ताको घरखेत लिलामि हुने अवस्थामा पुगेको भन्दै सेटिङ गर्न जान्नेहरुको अवैध उद्योग पनि सञ्चालनमा रहेको उनले उल्लेख गरे । क्रसर उद्योग नविकरण नहुनुमा प्रधानमन्त्री र गृहमन्त्रीको संग्लनता रहेको सोझो रुपमा देख्न सकिने उनकाे भनाइ छ।

सरकारले आवश्यक नीति बनाएर क्रसर उद्योगीहरुको माग सम्बोधन गर्न आवश्यक रहेको उनले बताए ।